शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन तीन जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, २० पुस । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एकै दिन तीन जनाको मिर्गौला प्रत्यारोपण (लाइभ डोनर ट्रान्सप्लान्ट) भएको छ ।

जिवित स्वस्थ व्यक्तिको मिर्गौला झिकेर गरिने यस किसिमको प्रत्यारोपण (लाइभ डोनर ट्रान्सप्लान्ट) एकै दिनमा तीन जनाको भएको नेपालको इतिहासमै पहिलो  हो । अस्पतालले एकै पटक तीन जनाको लाइभ डोनर ट्रान्सप्लान्ट गरेको केश सम्भवत दक्षिण एसियामै पहिलो हुन सक्ने अनुमान गरेको छ ।

विहीबार केन्द्रका निर्देशक एवं बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको ट्रान्सप्लान्ट टिमले ५६ बर्षीया रेणु झा, ३१ बर्षीय फिलिप देसार र३२ बर्षीय नयन देसारमा मिर्गौला प्रत्यारोपण गरेको हो । उनीहरुलाई क्रमश : ६२ बर्षीय ललन झा, ३३ बर्षीया रमिता देसार र २३ बर्षीया सविना देसारले मिर्गौला दान गरेका हुन् ।

‘विहान ९ बजे शुरु गरेर ५ बजे सकेका थियौँ । हामीले यसअघि एकै पटक तीन जनाको यसरी लाइभ डोनर ट्रान्सप्लान्ट गरेका थिएनौँ । र एकैपटक तीन जनाको प्रत्यारोपण भएको केश हामीले सुनेका छैनौँ,’ कार्यकारी निर्देशक डा . श्रेष्ठले भने ।

त्यसो त डा. श्रेष्ठकै नेतृत्वमा दुई बर्ष अघि सोही केन्द्रमा पहिलो ब्रेन डेथ केश गर्दा २४ घण्टामा ४ जनाको प्रत्यारोपण भएको थियो । ‘हामीले दिउसो दुई जनाको लाइभ डोनर ट्रान्सप्लान्ट गरेका थियौँ । फेरी राती ब्रेनडेथवाला केश आयो । त्यसको पनि दुईजनामा प्रत्यारोपण गरयौँ,’ डा श्रेष्ठले अगाडी थप्यो, ‘ब्रेन डेथका केशमा एकैदिन धेरै जनाको हुनसक्छ । तर लाइभ डोनर नै तीन जनाको हुनु भनेको रियर केश हो ।’

विहीबारको लाइभ डोनर ट्रान्सप्लान्ट गर्न डा श्रेष्ठको नेतृत्वमा सर्जन डा राकेश बर्मा, डा विजय कारवाल, डा दिपेश श्रेष्ठ, डा अनिषा तिवारी, नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, डा सागर श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष गुरुङ खटिएका थिए । यस्तै एनेस्थेसिया तर्फ डा आरती राई, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा सोभियत थापा खटिएका थिए । नर्सहरु कोपिला दाहाल र सीजोन गुरुङ लगायत पनि खटिएका थिए ।

चालु आर्थिक बर्षको साढे पाँच महिनामा ८१ जनाको प्रत्यारोपण
केन्द्रले चालु आर्थिक बर्षको साढे पाँच महिनाको अवधीमा ८१ जनामा मिर्गौला प्रत्यारोपण गरेको छ । यसबीचमा दुई जनामा ब्रेन डेथ भएको व्यक्तिबाट झिकिएको मिर्गौला र अरु सबै लाइभ डोनर ट्रान्सप्लान्ट हुन् ।

‘अझ यहि अवधीमा मिर्गौला प्रत्यारोपणमा आवश्यक हुने औषधि एन्टी थाइमोसाइट ग्लोभिन (एटीजी) को अभावमा करीव तीन साता प्रत्यारोपण रोकियो । नत्र त यो संख्या अझ धेरै हुन्थ्यो,’ निर्देशक डा श्रेष्ठले भने ।

प्रत्यारोपण शुरु भएको साढे पाँच बर्षको अवधीमा केन्द्रमा भयो ५४९ जनाको प्रत्यारोपण
यसैबीच केन्द्र स्थापना भएको साढे पाँच महिनाको अवधीमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या ५४९ जना पुगेको छ । अहिलेको संख्याले औषतमा बार्षिक सय जनाको प्रत्यारोपण भएको जस्तो देखिन्छ ।

‘तर यो होइन शुरुका बर्ष र अहिलेका बर्षहरुमा संख्यामा ठूलो भिन्नता छ । अहिले हामी सातामै ६ देखि ८ वटा सम्म प्रत्यारोपण गर्न थालेका छौँ,’ निर्देशक डा श्रेष्ठले भने ।

चार सय बढी डायलासिस, पाँच सय बढी प्रत्यारोपणको पर्खाइमा
स्थापनाको छोटो अवधीमा नै आफ्नो बेग्लै छाप बनाएको प्रत्यारोपण केन्द्रले अहिले क्षमताले भ्याएसम्मको सेवा उपलव्ध गराएको जनाएको छ । ‘हामीकहाँ अहिलेपनि चार सय बढीले डायलासिस गराउनु भएको छ । पाँच सय बढीले प्रत्यारोपणका लागि पालो पर्खेर बस्नु भएको छ । करीब ४ सय जतिले ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिन पाँउ भनेर नाम दर्ता गराई बस्नु भएको छ,’ डा श्रेष्ठले भने ।

उनले अहिले केन्द्रका सबै उपकरण, जनशक्ति पूर्ण रुपमा प्रयोग भएको बताए । ‘हामीकहाँ अहिले न बेड खाली छ । न डायलासिस गर्न खाली छ । विरामीको चापले त्यो भवन अहिले साच्चिकै अति साँघुरो भएको छ । यसको क्षमता विस्तार गर्नु अहिलेको तत्कालको आवश्यकता हो । माथिल्लो निकायको अव ध्यान जानैपर्ने जरुरी छ,’ डा श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *