क्यान्सर अस्पतालको विकास र विस्तारमा लागिरहेको छु : प्रचण्ड

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रक्रियामा आएदेखि नै आफूले योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

अस्पतालले सञ्चालन गरेका दुई वटा फार्मेसीको आज यहाँ उद्घाटन गर्दै उनले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताए । उनले देशको एक मात्र केन्द्रीयस्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रसँग आफूले निरन्तर कुराकानी गरिरहेको जानकारी गराए ।

अस्पतालको आफ्नै फार्मेसीबाट बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा अस्पताल स्वयंले फार्मेसी सञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज फार्मेसीको उद्घाटन गर्न पाएकामा खुशी व्यक्त गरे ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले फार्मेसी सञ्चालन प्रक्रिया र सहुलियत दरमा बिरामीले औषधि पाएको जानकारी गराएका थिए । उनले फार्मेसी अस्पताल अतिरिक्त आम्दानीका लागि नभएर बिरामीको सेवाका लागि केन्द्रित हुने बताए । अस्पतालले फार्मेसी सञ्चालन गरेसँगै बजारको बिक्री मूल्यभन्दा ३०० गुणासम्म सस्तोमा बिरामीले औषधि पाएका छन् ।

आचार्यका अनुसार फार्मेसी सञ्चालन निर्देशिका २०७२ ले तोकेअनुसार बोलपत्र आह्वान गरी खरीद गरिएको मूल्यमा २० प्रतिशत मुनाफा राखेर बिक्री गरिएको छ । क्यान्सरका बिरामीलाई लगाईने महङ्गो केमोदेखि ग्यास्ट्रिक नबढोस् भनेर खाइने सामान्य औषधिसम्म निकै सस्तो मूल्यमा उपभोक्ताले पाएका छन् ।

अक्ज्यालो प्लाटिन नामक केमो बाहिरी बजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु तीन हजार ३०० मा बिक्री गरिएको आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बजारमा प्रति ट्यावलेट रु आठ पर्ने प्यान्टोप्राजोल तीन रुपैयाँ २५ पैसामा अस्पतालको फार्मेसीमा पाइन्छ ।

अस्पतालका कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनुभएका भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको आफ्नै फार्मेसी भएसँगै बिरामी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

पछिल्लो समय अस्पताल सुधारको गतिमा अघि बढेको भन्दै उहाँले यसलाई एशियाको नमूना अस्पतालका रुपमा विकास गर्न महानगर लागि परेको जानकारी दिनुभयो । अस्पतालको वहिरङ्ग र अन्तरङ्ग सेवामा फार्मेसी सञ्चालमा ल्याइएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *