‘स्थानीय तहमा औषधि अभाव हुँदा अब केन्द्रलाई किन गुहार्ने ?’- स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, ६ असार । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले स्थानीय स्वास्थ्य चौकी र अस्पतालहरुमा हुने औषधि अभावको दोष संघीय सरकारलाई लगाउन नमिल्ने बताएका छन् । अहिले पनि जिल्ला तथा स्थानीय तहमा औषधि अभाव हुँदा त्यसको दोष संघीय स्वास्थ्य मन्त्रालयलाई लगाउने गरेको भन्दै त्यसो गर्नु गलत रहेको बताए ।

औषधि व्यवस्था विभागले प्रदेश नं तीनका स्थानीय निकायहरुलाई लक्षित आयोजना गरेको औषधिको समुचित प्रयोग र औषधिको प्रतिजैविक प्रतिरोध विषयक कार्याशाला गोष्ठीलाई सम्वोधन गर्ने क्रममा राज्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

‘अहिले पनि हुम्ला जुम्लामा औषधि अभाव भनेर समाचार आउँछ । र त्यसको दोष संघीय मन्त्रालयलाई दिन खोजिन्छ । तर त्यसो होइन । अब के बुझ्नु परयो भने संघीय मन्त्रालयले औषधि खरीद तथा वितरणका लागि आर्थिक सहित सबै जिम्मेवारी स्थानीय तहलाई दिइसकेको छ । त्यसैले अब अभाव भयो भने स्थानीय तहकै ध्यानाकर्षण गराउनुपर्छ,’ उनले भने ।

राज्यमन्त्री डा यादवले अहिले जथाभावी रुपमा एन्टीबायोटिकको प्रयोग गर्ने क्रम बढेको भन्दै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए । ‘नयाँ औषधि आएको छैन । पुरानाले काम गर्न छाड्यो । एन्टीबायोटिक रेसिस्टका कारणले यस्तो भएको हो,’उनले भने ।

कार्यक्रममा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले औषधिको समुचित प्रयोग गर्न गराउन स्वास्थ्यकर्मी, चिकित्सक, फर्मासिस्ट, व्यावसायी लगायत सबैको दायित्व हुने भन्दै त्यसमा मन्त्रालयले गर्नुपर्ने काममा सहयोग गर्ने बताए । उनले गुणस्तरीय औषधिको सहज उपलव्धताको लागि मन्त्रालय लागि परेको जानकारी दिए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललले संविधानले नै स्थानीय तहमा औषधिको समूचित प्रयोग तथा त्यसको नियमन गर्न प्रदेश तथा स्थानीय तहको जिम्मा छाडिदिएको भन्दै त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सबै पक्ष सम्वेदनशील हुनुपर्ने बताए । ‘अहिले पनि अस्पतालमा उपचारका लागि आउने विरामीमध्ये प्रमुख तेस्रो कारण औषधिको समुचित प्रयोग नगरेकैले भन्ने देखिएको छ । ५० प्रतिशत औषधिको अनुचित प्रयोग हुने गरेको भनिने गरिन्छ । अहिले नयाँ एन्टीबायोटिक आएको छैन पुरानाले काम गर्न छाड्यो । किनकी शरीर एन्टीबायोटिक रेसिष्ट भैदियो । त्यसले यो गम्भीर विषय हो ।स्थानीय तहले यसलाई गम्भीर विषयको रुपमा लिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा संघीय संरचनामा औषधि विभाग विषयमा महानिर्देशक ढकाल, औषधि ऐन र नियमन सम्वन्धी कानुनको बारेमा कानुन मन्त्रालयका सहसचिव इश्वरीप्रसाद ढकाल र औषधिको समुचित प्रयोग र प्रतिजैविक प्रतिरोध सम्वन्धी विषयमा विभागका प्रवक्ता प्रमुख औषधि निरीक्षक सन्तोष केसीले प्रस्तुतिकरण दिएका थिए ।

आजको कार्यक्रममा काठमाडौँका स्थानीय निकायका स्वास्थ्य हेर्ने फोकल पर्सन, औषधि व्यवसायी लगायतका उपस्थिथि थियो ।
विभागले प्रदेश स्तरमा गरेको यो चौथो गोष्ठी भएको जनाएको छ । यसअघि सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, दुई नम्बर प्रदेशमा यो गोष्ठी गरिसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *