पाटन अस्पतालमा गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी !

काठमाडौँ, ४ असार । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागले गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । विभागको अर्थोडन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुई जना गैर चिकित्सकले बर्षौ देखि विशेषज्ञ चिकित्सकको काम सम्हाल्दै आएको भन्दै उजुरी परेको हो ।

नेपाल डेन्टल एसोसिएसनको तर्फबाट परेको उक्त उजुरी पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतलाई बोदार्थ दिइएको छ ।

एसोसिएसनका महासचिव डा कुम्भराज जोशीले हस्ताक्षर गरेको उजुरीमा गैर चिकित्सकलाई विशेषज्ञ बनाई काम गराएको विषयमा विभाग र सम्बन्धित जिम्मेवार व्यक्तिलाई पटक पटक जानकारी गराउँदा समेत अटेरी गरेको उल्लेख छ ।

‘सरकारको यति ठूलो संस्थामा गैर चिकित्सकलाई चिकित्सकको रुपमा प्रस्तुत गराएर प्राक्टिसमा सहभागी गराउँदा यसले त कुट चिकित्सक (क्वाकरी)लाई प्रोत्साहन गर्छ । व्यक्तिगत लाभ र कुत्सित मनसायबाट यो काम किन भइरहेको छ ?’ महासचिव जोशीले उजुरीमा लेखेका छन् ।

उनले लेखेको उजुरी पत्रमा यस्ता अभ्यासले विरामी र चिकित्सा पेशालाई ठग्ने काम भइरहेको भन्दै यो कार्यमा सम्लग्न व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्न समेत माग गरिएको छ ।

यसै विषयमा नेपाली हेल्थ डटकमले नेपाल डेन्टल एसोसिएशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारीसंग केही कुराकानी गरेको थियो । हेरौँ उनीसंग गरिएको कुराकानीको सम्पादित अंश :

डा. प्रविन्द्र अधिकारी

पाटन अस्पतालको डेन्टल विभागमा गैर चिकित्सकबाट विशेषज्ञ सेवा दिइरहेको छ ?
हो, विभागको अर्थोडन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुई जना गैर चिकित्सकले बर्षौ देखि विशेषज्ञ चिकित्सकले गर्ने काम सम्हाल्दै आउनु भएको रहेछ । हामीले त्यो थाह पाउनासाथ अस्पताल प्रशासनलाई जानकारी गरायौँ । गैर चिकित्सकलाई विशेषज्ञले गर्ने काम गराउनु गैरकानूनी हो भनेर भन्यौँ । अस्पताल प्रशासनले त्यसलाई सच्याउने बतायो । तर त्यसपछि पनि सच्याएन । दुई जना गैर चिकित्सकले विशेषज्ञ चिकित्सकको रुमपा काम गरिरहेका छन् ।

पाटनले काउन्सिलनै गुहार्नुपर्ने गरी गरेको हो त ?  
हो, म आफै डेन्टल एसोसिएसनको निर्वाचित अध्यक्ष हुँ । अध्यक्ष भएको नाताले काउन्सिलमा पदेन सदस्य हुने प्रावधान छ । पाटनमा गैर चिकित्सकले चिकित्सकीय अभ्यास गरिरहेको छ भन्ने जानकारी आएपछि मैले त्यहाँको अस्पताल प्रमुखलाई भेटेर मौखिक रुपमा सचेत गराएँ र सच्याउन भने । उहाँले हुन्छ पनि भन्नु भयो । तर कार्यान्वयनमा ल्याउनु भएन । त्यसपछि हाम्रो संस्थाले काउन्सिल, अख्तियार, सीआईवी लगायतका विभिन्न निकायमा पत्र पठाको हो ।

तपाईँहरुले भनेको दुई जना जो गैर चिकित्सक छन् तर विशेषज्ञले गर्ने काम गरिरहेका छन् भन्नु भएको छ ? उनीहरुले काम के गर्दा रहेछन् ?

उनीहरु बांगोटिंगो दाँतको उपचार गर्ने, ब्रेसेज लगाइदिने काम गर्दा रहेछन् । जो कामका लागि वीडीएस अध्ययन सकेपछि पनि विशेष कोर्ष गर्नुपर्छ । उनीहरुले अनुभव र केही सर्ट कोर्ष तालिमका आधारमा सो काम गर्दै आएको पाइयो ।

उनीहरु दक्ष छन् भन्ने होला नि त अस्पताल व्यवस्थापनको तर्क ?
त्यस्तो गर्न पाइदैन । उपचारका लागि मानिसहरुको मुख जाँच गर्ने काम दन्त चिकित्सक र डेन्टल हाईजिसिनले मात्रै गर्न पाउँछ । अझ यो काम गर्न त वीडीएसले मात्रै पनि पुग्दैन । विशेष तालिम लिनुपर्छ । क्वालिफाईड व्यक्तिले मात्रै गर्न पाउँछ । न लाइसेन्स छ । न योग्यता छ । अनुभवको आधारमा मात्रै काम गर्न पाइन्छ र ? पाइदैन नि । हामीले त्यसले क्वाकरी गरेको भनेका हौँ ।

पाटनका निर्देशकले हामीलाई जानकारी नै छैन भन्नु भएको छ त ?
म आफैले केही साता अघि उहाँलाई भेटेर मौखिक जानकारी गराएको छु । उहाँले हुन्छ सच्याउछु भन्नु भएको थियो । तर अहिले सच्याउनुको कुरा त परै जाओस थाह नै पो छैन भन्नु भएछ । यो दुखद पक्ष हो ।

तपाईँ त काउन्सिलको पनि सदस्य हुनुहुन्छ ? काउन्सिलले अब के गर्छ ?
काउन्सिलले अब छानविन टोली बनाउँछ । छानविन गर्छ । रिपोर्टको आधारमा कारवाही पनि अघि बढाउँछ । अर्को कुरा पनि भनौँ यस्तो समस्या अरु स्वास्थ्य संस्थामा पनि छ भन्ने सुनिएको छ । उजुरी आएमा काउन्सिलले छानवीन तथा कारवाही प्रक्रिया अघि बढाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *