जङ्गली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ, ३१ जेठ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ ।

गत शुक्रबार च्याउ खाएर चार परिवारका ११ जना गम्भीर बिरामी भएका थिए । दुई जनाको गत शनिबार नै चितवनका दुई अस्पतालमा मृत्यु भएको थियो ।

त्यसबेला मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठकुरी ४ वर्षीया विष्णुसिं ठकुरी थिए । सहोदर दिदी बहिनी उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
बाँकी ४ जनाको भने काठमाडौँका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

त्यसअघि स्वास्थ्य मन्त्रालयको विपत व्ययवस्थापन इकाईले समन्वय गरी गम्भीर विरामी परेका ९ जनालाई काठमाडौँ ल्याई उपचारको व्यवस्था मिलाएको थियो । उनीहरुलाई त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिसिटी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय विपत व्यवस्थापन इकाइका प्रमुख चुडामणी भण्डारीका अनुसार काठमाडौ आएर मृत्यु हुनेमा सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चा रहेका छन् ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता भइसकेका छन् । बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए।

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *