पुरानो मेडिकल कलेजमा फेरी शुरु भयो मिर्गौला प्रत्यारोपण

पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण गर्दै डा बर्मा नेतृत्वको टोली : नर्स सर्मिला कोजुको फेसबुकबाट

काठमाडौँ, २९ जेठ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समय पछि मिर्गौला प्रत्यारोपण भएको छ । करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।

गत सोमबार प्राडा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर -६ निवासी ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन् ।

‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुशी छौँ,’ डा बर्माले भने । उनले अब दोस्रो केश पनि छिटै गर्ने बताए ।

प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रविण जोशी , डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादव लगायतको टोली खटिएको डा बर्माले बताए ।

प्रत्यारोपण केन्द्रका डा. बर्मा अब भरतपुरमा ?
सोमबारको प्रत्यारोपण पछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने दावी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा बर्माले भने ।

यसअघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।

हाम्रो टोली देशभर फिजिदैछ : डा पुकार चन्द्र श्रेष्ठ

यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यका बाहिर प्रत्यारोपण शुरु हुनु राम्रो कुरा भएको बताए । उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुशी व्यक्त गरे ।

‘पुरानो मेडिकल कलेजमा अस्ति भएको प्रत्यारोपणमा डा बर्मासहित अधिकांश डाक्टर हामीकहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामीकहाँ ट्रेन्ड भएका डाक्टरहरु जानु भएको छ । त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथा लिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।

उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमी जस्तो भएको समेत बताए । ‘हामीसंग सिकेका धेरैले अन्यत्र गएर सेवा दिनु भएको छ । त्यसैले यो एकेडेमी जस्तो भएको छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *