जंगली च्याउ खाँदा गम्भीर बिरामी पाल्पाका नौ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ, २९ जेठ । पाल्पा निस्दी गाँउपालिका ३ झिरुवास सार्की डाँडामा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका ९ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनीहरुको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत शुक्रबार बेलुका जंगलबार ल्याएको च्याउ खाएपछि बिरामी भएका ११ जना मध्ये गत शनिबार दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा नौ बर्षीया निर्मला सिंह ठकुरी र चार बर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । सहोदर दिदी बहिनी भएका उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा ज्यान गएको हो ।

उपचारको समन्वय गरेको स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईका प्रमुख चुडामणी भण्डारीका अनुसार ४१ बर्षीया चन्द्रसरा खाम्चा, २९ बर्षीया दानकुमारी सिंह ठकुरी, र ३० बर्षीया धनकुमारी सिंह ठकुरी अवस्था गम्भीर छ । उनीहरुलाई क्रमश त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिसिटी अस्पताल भैसेपाटी र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल अस्पतालका आइसियूमा राखेर उपचार भइरहेको छ ।

यस्तै ८२ बर्षीय प्रेमबहादुर सिंह ठकुरी, ४७ बर्षीय पुरनसिंह खाम्चालाई त्रिवि शिक्षण अस्पतालको अब्जरभेसन वार्डमा र १५ बर्षीया बिमला खाम्चा सोही अस्पतालको पेडियाट्रिक वार्डमा राखेर उपचार गरिएको छ । यस्तै उमेर नखुलेको निरुता खाम्चाको उपचार केएमसी शिक्षण अस्पताल सिनामंगलमा भइरहेको छ । दुई जना बालबालिकाहरु १२ बर्षीया निशा सिंह ठकुरी र ८ बर्षीय सुमनसिंह ठकुरीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि उनीहरुलाई उपचारका लागि नवलपुरस्थित मध्यविन्दु अस्पताल, चितवनस्थित भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

काठमाडौँमा अहिले उनीहरुको उपचारको समन्वय स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईले गरिरहेको छ ।

जंगली च्याउ खाएकै कारण पाल्पामा हरेक बर्ष ६ – ७ जनाले ज्यान गुमाउने गरेका छन् । यद्धपी अहिले पनि जंगली च्याउ खानेक्रम रोकिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *