गाँउपालिकाले औषधि पठाएन, स्वास्थ्यचौकीमा जीवनजल समेत छैन

  • मानदत्त रावल

जुम्ला, २६ जेठ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो ।

स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उनले भने, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन्, यसले गर्दा यहाँका स्थानीयवासी प्रभावित हुने गरेको उनले बताए ।

स्वास्थ्यचौकीका अहेव गोविन्द भण्डारीका अनुसार यहाँ पटक–पटक औषधि शून्य मौज्दात रहने गरेको छ । गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजलसमेत अभाव रहेको उनले बताए ।

आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महिना जति शून्य मौज्दात रहेको थियो भने कोटिम बच्चा र किशोरावस्थामा प्रयोग गर्ने झण्डै छ महिना जति शून्य मौज्दात रहेकाले सेवाग्राहीलाई दिन नसकिएको उनको भनाई छ ।

त्यसैगरी पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेव भण्डारीले बताए । परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन । कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महिना जति शून्य मौज्दात रहेको थियो ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाका अनुसार अहिले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पु¥याउन नसकेको स्वीकार गरे । उनले भने, स्थानीय तहमा कर्मचारी अभाव, समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरीदको काम नभएर स्वास्थ्य संस्थामा समयमा औषधि पुग्न सकेन । आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उनले प्रतिवद्धता गरे ।

स्थानीय सरकारसँग प्रसूतिगृह माग

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष तीन घण्टा टाढा पैदल दूरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदा लैजाँदै बाटोमै सुत्केरी भइन् । त्यसैगरी दुई वर्षअघि सोही गाउँकी रामा बुढा सुत्केरी हुन नसकेर घरमै मृत्यु भयो ।

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह नजिक नभएका कारण टाढाको प्रसूतिगृहमा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताए । उनले भने, “यहाँ सडक यातायातको पहुँच छैन, सुत्केरी गराउनका लागि बोकेर लैजानुपर्ने बाध्यता छ ।”

अहिले भर्खर कच्ची सडक गाउँमा पुगेको छ । यही पनि वर्षा सिजनमा बन्द हुन्छ । यहाँका स्थानीयवासीलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ । यहाँको गर्भवती महिलाको सहजताका लागि पहिलादेखि नै प्रसूतिगृहको माग राख्दै आए पनि सुनुवाइ नभएको बुढाको गुनासो छ । अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ, दुई वर्ष बित्यो सुनुवाइ भएको छैन”, उनले भने ।

यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् । गर्भावस्थामा जाँच पनि गराउँदैनन् । अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन् । घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बाध्यताले बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको स्थानीय बुढाले बताए ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । उनले भने, “प्रसूतिगृहमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन भएको छ । आवश्यक सामग्री खरीद प्रक्रियामा रहेको उनको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन मात्र बर्थिङ सेन्टर रहेका छन् । यस गाउँपालिकामा १२ हजार ९७७ जनसङ्ख्या रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *