पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप

माननीय अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आव २०७६ /७७ को बजेटमा ‘महिलाहरुमा बढदो सर्भाइकल क्यान्सर विरुद्ध खोप कार्यक्रम गर्न आवश्यक बजेट विनियोजन गरिएको छ,’ भनि उल्लेख छ ।

विगत लामो समय देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप शुरु गर्नुपर्छ भनि बहस र छलफल भै रहेको सन्दर्भमा बजेटमा यो विषयले प्रवेश पाउनु स्वागतयोग्य छ ।

पाठेघरको मुखको क्यान्सरबाट संसारमा बर्षेनी लाखौ महिलाको ज्यान जाने गरेको छ ।

नेपालमा पनि एक लाख महिलामध्ये १९ जनामा यो समस्या रहेको अनुमान छ । हाम्रो जस्तो विकासोन्मुख देशमा महिलाहरुलाई हुने सबै क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्दछ ।

बर्षेनी करीब २ हजार जना नेपाली महिलाहरुको यसै समस्याका कारण मृत्यु हुने गरेको तथ्यांक छ । यस कारण यो समस्या जनस्वास्थ्यको समस्या हो भनि बुझ्नु पर्दछ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण :

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी)लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ ।

एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।

त्यसैले बालिकाहरुको संक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै ९ देखी १५ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो । अहिले एचपीभीबिरुद्धको खोप बनिसकेको अवस्था छ ।

त्यसो त नेपाल सरकारको खोप सम्वन्धी बहुबर्षीय योजनामा समेत एचपीभी लगायतको खोपहरु नियमित खोप सेवामा थप गर्दै जाने भनि उल्लेख गरिसकेको छ ।

सरकारले २०७२ /०७३ मा कास्की र चितवन जिल्लाका कक्षा ६ मा पढ्ने र विद्यालय नगएका १० बर्ष उमेरका बालबालिकाहरुलाई २ मात्रा एचपीभी खोप दिएर अध्ययन समेत गरेको छ । त्यस अभियानमा बालिकाहरु शिक्षक र अभिभावकहरु सबैको ठूलो सहयोग प्राप्त भएको थियो । जसले गर्दा त्यस खोपको कभरेजदर त्यसबेला ९६ प्रतिशत भन्दा बढी देखिएको थियो ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरीसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ । यो खोप छ महिनाको अन्तरालमा दुई पटक दिइन्छ ।

महिलालाई पाठेघरको मुखको क्यान्सर (सर्भाकल क्यान्सर)बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप नै हो । दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षको एक पटक नियमित जाँच र उपचार गर्नु हो । तेस्रो तरिका रोगको निरुपण र उपचार गर्ने हो ।

दीगोविकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा नसर्ने रोगहरुबाट हुने अकालमृत्यु (प्रिम्याचर डेथ) लाई प्रवर्धनात्मक र उपचारात्मक सेवाको माध्यमबाट एक तिहाईमा झार्ने लक्ष्य लिइएको छ । सोही बमोजिम एचपीभी विरुद्धको खोप केही महंगो भएता पनि भावि पुस्तालाई पाठेघर लगायत प्रजनन प्रणालीको क्यान्सर हुनबाट जोगाउन खोपमा लगाउनी बढाउँदै जानु, स्वास्थ्य मानवीय सामाजिक र आर्थिक हिसावले पनि उचित देखिन्छ ।

नियमित खोपमा राज्यले रकम छुट्याउनु खर्च होइन लगानी हो भन्ने पनि बुझ्नु पर्दछ । यो विषयलाई नेपाल सरकारले महत्वको साथ स्विकार गर्नु हामी सबैका लागि खुशीको कुरा हो ।

# डा. गौतम स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाशाखा अन्तरगर्तको वाल स्वास्थ्य तथा खोप शाखा प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *