म्याग्दी : स्वास्थ्य शिविरमा २५० बढी लाभान्वित


बेनी, १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा शुक्रबार सम्पन्न निःशुल्क शल्यक्रियासहितको स्वास्थ्य शिविरमा २५० बढी लाभान्वित भएका छन् । नागीमा ग्रामीण स्वास्थ्य केन्द्र सञ्चालन गरेको फेक्ट नेपाल र मोडल अस्पताल काठमाडौँद्वारा आयोजित तीन दिने सो शिविरमा १२ जनाले शल्यक्रिया गराएका थिए ।

शिविरमा आठको एपेन्डिक्सको उपचार तथा पित्तथैलीको पत्थर निकालिएको थियो भने चारको सामान्य शल्यक्रिया गरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका आर्थिक संयोजक कृष्ण पुर्जाले जानकारी दिए । ल्याप्रोसकोपी प्रविधिबाट पित्तथैलीको पत्थरी निकालिएको सो शिविरमा नागीसँगै राम्चे, पर्वतको लेखफाँट, सालिजा, हलहले, मल्लाजलगायतका बासिन्दा लाभान्वित भएका थिए ।

गाउँमै शल्यक्रियासहितको शिविर सञ्चालन भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीले लाखौँ खर्चिएर ठूला अस्पतालमा पुग्नुपर्ने बाध्यताबाट राहत पाएका छन् । चिकित्सक अर्विन जोसीको नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधि वितरणसमेत गरेको सो शिविरमा १०० ले भिडियो एक्सरे गराउनाका साथै १५० ले स्वास्थ्य परीक्षण गराएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *