‘हजुरहरुले सूर्तिजन्य पदार्थ रोज्ने कि स्वास्थ्य ?’

  • डा. तारासिंह बम
डा. तारासिंह बम

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले भन्छ सूर्तिजन्य पदार्थको सेवनका कारण लाग्ने रोगका कारण नेपालमा बार्षिक २५ देखि ३० हजार मानिसहरुको मृत्यु हुने गरेको छ ।

पाँच सात बर्ष अघि सम्म हामीले के सुन्थ्यौँ भने सूर्तिजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट बार्षिक १५ हजार नेपालीले ज्यान गुमाउने गर्दछन् । यस हिसावले पाँच सात बर्षको अन्तरालमा मृत्यु हुनेको संख्या कम्तीमा १० हजारले बढीले थपियो । के कारणले यस्तो भयो कसको कारणले यस्तो भयो । छ जवाफ कसैसंग यसको ?

स्वास्थ्य मन्त्रालयको तर्फबाट भर्खरै भएको प्रस्तुति करणमा हामीले देख्यौँ सूर्ति नियन्त्रणका लागि ठूला उपलव्धिहरु पनि हासिल भएका छन् । अब मेरो जिज्ञासा ती उपलव्धीहरु कता तिर गइरहेको छ ? किनकी उपलव्धी हुँदै गर्दा मृत्यु हुनेको संख्या संख्या त झन् झन् बढी रहेको छ । तसर्थ यसमा गम्भीर भएर समिक्षा गर्न जरुरी छ ।

नेपालमा कुल जनसंख्याको करीब ३० प्रतिशत मानिस सूर्तिजन्य पदार्थको प्रयोग गर्दछ । त्यसमा ५२ प्रतिशत पुरुषहरु छन् । करीब ८ – १० प्रतिशत महिलाहरु छन् ।

सूर्तिजन्य पदार्थको प्रयोगकर्ता पुरुषहरुमध्ये २४ – २५ प्रतिशत न्युन आय भएकाहरु छन् । यस्तै सूर्ति प्रयोगकर्ता महिलाहरुको आम्दानीको स्तर हेर्ने हो भने ५० प्रतिशत बढी महिलाहरु अति कम (न्युन) आय भएकाहरु नै छन् । अर्थात यसो भनौँ, जो महिलाको आम्दानी नै छैन उसैले सबैभन्दा बढी सूर्तिजन्य पदार्थको प्रयोग गर्दो रहेछ । अव यो स्थितिमा सुधार ल्याउने कसरी ? यो अवस्थामा सुधार ल्याउने कसको जिम्मेवारी हो ?

एउटा नेपाली नागरिक भएको नाताले यसमा सुधार ल्याउने मेरो पनि जिम्मेवारी हो । र यसको जिम्मेवारी अरुको पनि हो । त्यो अरु को हो ? मैले भन्छु लिडरशिप ।

त्यसो त ‘एनी बडी क्यान वि लिडर।’ म पनि लिडर बन्न सक्छु । हाम्रा पत्रकारहरुले ल्याएको एजेन्डा उहाँहरु पनि लिडर हो । यो अभियानमा हाम्रा कुनै पनि भोलेन्टियर लिडर हुनसक्छ । कुनै पनि नागरिक लिडर बन्न सक्छ । तर मैले यी सबै कुरालाई अहिले अलि पर राख्न चाहन्छु ।

यहाँ लिडरशीप भनेको मैले हाम्रा माननीय मन्त्री ज्यूलाई, सांसद ज्यू हरुलाई, स्वास्थ्यका उच्च अधिकारीहरुलाई हो ।

मैले अनुरोध गर्न चाहन्छु कि हामी अहिले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा कहाँ निर छौँ । नेपालमा ‘टोवाको कन्ट्रोल’ अभियानमा कसरी लागिरहेका छौँ ? यो प्रभावकारी हुँदै गएको छ कि छैन ?

पेशागत कारण भनौँ मेरो बसाई नेपाल बाहिर छ, त्यसैले मलाई थाह नभएको पनि हुनसक्छ । तर मैले नेपालको संसद बाहिर बसेरै भएपनि पनि सकभर नछुटाई हेर्छु ।

त्यो गरिमामय संसदमा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी विषयमा कतिजना माननीय ज्यूहरु बोल्नु भएको छ ? बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको नियन्त्रण गर्ने विषयमा यहाँहरुको आवाज उठ्नु पर्ने हो कि होइन ? जनताको स्वास्थ्यका लागि यहाँहरुले कदम चाल्नुपर्ने हो कि होइन ? अथवा स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धि विषयमा बोलिदिनु परयो भनेर कतिपटक यहाँहरुको ध्यानाकर्षण गरायो ? म देख्दछु नेपालका मिडियाले सूर्ति नियन्त्रणका विषयमा नियमित रुपमा सामाग्रीहरु (समाचार) पस्केका छन्, जनस्वास्थ्यको बारेमा यति धेरै गम्भीर विषय उठ्दा त्यो विषयले संसदमा यो विषयले कतिपटक प्रवेश पायो ? वा पाएन ?  पाएन भने किन पाएन ? माननीय ज्यू हरुलाई मेरो जिज्ञासा   ।

अहिले सरकारले जो विकेन्द्रीकरणको नीति अबलम्वन गर्दै देशमा संघीय सरंचना लागू भइरहेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर पनि हो । यो अवस्थालाई मजबुत बनाउने काममा स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भुमिका लिएको छ कि छैन ?हामीले भित्रै मात्रै बसिरहने कि कति गाँउ पालिका, कति नगरपालिका, कति गाँउ पालिकामा यो कार्यक्रम लगेका छौँ ? एक्सन दिने र एक्टीभिटी दिनेमा उनीहरुसंग मिल्नुपर्छ । त्यो हामीले आफले गर्नुपर्छ ।

अर्को पार्टनरसीप,  जव पार्टनरसिपको कुरा आउँछ स्वास्थ्यको मात्रै जिम्मेवारी होइन, एउटै पत्रकारको जिम्मेवारी होइन । एक जना माननीयको जिम्मेवारी होइन । हामी सबैको जिम्मेवारी हो । होल गभरमेन्ट सेक्टरमा हामी कसरी अघि बढेका छौँ भन्ने कुरापनि यहाँ निर राख्न चाँहे ।

अर्को हो एकाउन्टीविलि,  हामीले जिम्मेवारी लिने कि नलिने ? हामी जनताप्रति जिम्मेवार हुने कि नहुने ? यी  कुरामा ‘हामी कहाँ छौ’ भनेर आफैले आफैलाई मूल्यांकन गर्ने बेला आएको छ ।

म हजुरहरुलाई फेरी अनुरोध गर्न चाहन्छु, सूर्तिजन्य पदार्थको सेवनका कारणले मृत्यु हुनेको सख्या बढदै गइरहेको छ । पाँच सात बर्ष अघिसम्म १५ भनिरहेका हामीले २७ हजार बढी भन्न थालेका छौँ । त्यसैले माननीय मन्त्री ज्यू, सांसद ज्यू यो जनस्वास्थ्यको विषयलाई गम्भीर रुपमा लिऔँ ।

सूर्ति नियन्त्रण गर्ने कानून हामीले बनाएका छौँ । अहिलेसम्मका हाम्रा जति नियम कानूनहरु बनेका छन् म गर्वसाथ भन्न सक्छु संसारमै सर्बोत्कृष्ठ छन् । तर समय अनुसार यसको परिमार्जन गर्नुपर्ने हुन्छ । त्यसैले अहिले हामीले कानून नीति निर्माणमा यहाँहरुको सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।

हामीले यसअघि बनाएको उत्कृष्ठ कानूनको कार्यान्वयनमा यहाँहरुको भूमिका हुनेछ भन्ने पनि अपेक्षा गरेका हौँ । किनभने यति राम्रो कानून बनेर पनि कार्यन्वयनमा अहिले हामी सून्य जस्तै छौँ ।

अहिले हामी काठमाडौँका जहाँ सुकै जाँउ  जता पनि हुक्का बार, सिसा बार, जताततै अहिले बाहिर गयो भने स्वास्थ्य मन्त्रालय देखि प्रहरी अस्पताल विद्यालय जहाँ सुकै चुरोट धुवा उडिरहेका छन् । हामीस.ग कानुन त छ तर कार्यान्वयन भएको छैन । अव यसको जिम्मेवारी कस्को ? स्वास्थ्यको ? गृहको ? अथवा पुलिसको ? अथवा म नागरिकको ? वा मेरो परिवारको ? यी कुरामा हामी सचेत हुन जरुरी छ ।

नीति निर्माताहरुको सूर्ति उद्योगीहरुसंगको लगाव वा साँठगाँठको कारणले पनि त्यो हुनसक्छ ।

एउटा प्रसंग निकाल्न चाहेँ, केही समय अघिसम्म यस्तो पनि थियो , स्वास्थ्य मन्त्रालयमा जाँदा चुरोट कम्पनीका मालिकहरुलाई रेड कार्पेट विच्छाइन्थ्यो तर हामीलाई भित्र जान मौका नै दिइदैनथ्यो । अहिले त्यस्तो छ कि छैन थाह छैन । तर अहिले पनि बेथितीका धेरै समाचार मिडियाबाट आइरहेका छन् । त्यसमा हामी लाग्नै पर्छ । त्यसैले अहिले पनि यसको कार्यान्वनय गर्ने निकाय भनेको सरकार हो । तर ती निकायका पदाधिकारीहरु सूर्ति उद्योगीहरुसंग निकटतम सम्वन्ध बनाईराख्नुहुन्छ र कानून कार्यान्वयनमा फितलोपन देखाउनुहुन्छ भने जनप्रतिनिधिको रुपमा आउनु भएका माननीय मन्त्री ज्यू सांसद ज्यूहरुको ध्यान जान जरुरी छ ।

मैले यहाँ अर्को कुरा पनि जोड्न चाहेँ हामी अर्थात स्वास्थ्य मन्त्रालय भनौँ वा सरकारको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को एफसिटिसीमा मान्ने सदस्य राष्ट हौँ । त्यसले के भन्दछ भने हामीले कुनै पनि सूर्तिजन्य पदार्थका काम गर्ने संघ संस्था र त्यो संग काम गर्ने कुनै पनि संघसंस्थासंग उठबस आत्मियता वा मित्रता गर्नु हुँदैन । कुनै कार्यमा कुरा गर्नुपरयो भने ट्रान्सप्यारेन्ट हुनुपर्छ । तर हामी यो विषयमा कहाँ निरु छौँ त्यो सम्झनुपर्ने देखिन्छ ।

अब दुईवटा काम गरौँ

करको दरका बृद्धि : 

सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने एउटा सबैभन्दा राम्रो ‘कस्ट इफेक्टीभ’ रणनीति भनेको करको दरमा बृद्धि गर्नुनै हो । यो खर्च नै नलाग्ने रणनीति हो । कर बढाउँदा केही समयका लागि राजश्व पनि बढ्ने विरामी बढने दरमै कमि हुने, मृत्यु दरमै पनि कमी हुन्छ ।

अर्को रंगिन चित्रसहित चेतावनीमुलक स्वास्थ्य सन्देश :

यसमा माननीय ज्यूहरको भुमिका चाहिन्छ । स्वास्थ्य मन्त्रालयले लिड रोल लिनै पर्छ । स्वास्स्थ्यले अहिले त्यो गरिहेको छैन । विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ घातक रंगिन चित्र सहितको तस्बिरले सूर्तिजन्य पदार्थको प्रयोगदरमा नियन्त्रण आएको छ । र यो गर्न सरकारको एक पैसा खर्च हुँदैन । र नेपालले यो कानुन बनाइसकेको पनि छ । यसको कार्यान्वनयम मात्रै भयो भने पनि यसको प्रयोग कम हुने थियो ।

अन्तमा,  म के भन्न चाहन्छु हाम्रा माननीय मन्त्री ज्यू, सांसद ज्यू तपाईँहरु देशको लिडर हो । जनताको जनहितमा काम गर्ने लिडर । मेरो प्रश्न बार्षिक हजारौँको ज्यान लैजाने, उपचारमा अर्बौको खर्च उठाउने, घरवार समाज नै छिन्न भिन्न बनाउने सूर्तिजन्य पदार्थ रोक्न यहाँको भूमिका के हुन्छ ? हजुरहरुले सूर्तिजन्य पदार्थ छान्ने कि स्वास्थ्य छान्ने ?

  • द यूनियनका एसिया प्यासेफिक क्षेत्रका उपनिर्देशक डा तारासिंह बमले गत साता राजधानीमा मन्त्री, संसदीय समितिका सभापति, सांसदहरु सहभागी कार्यक्रमका व्यक्त गरेको बिचारको सम्पादित अंश
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *