सूर्तिजन्य पदर्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्न जोड

काठमाडौं, १६ जेठ । सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा स्वास्थ्य सरोकारवालाले जोड दिएका छन् ।

विश्व धूमपानरहित दिवसको अवसरमा नेपाल जनस्वास्थ्य संघ र प्रदेश नं ३ को स्वास्थ्य निर्देनालयले राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएका हुन् ।

कार्यक्रमका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिहरुले/लाई सुर्तिजन्य पदार्थ खरिद तथा विक्रि गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने पनि धारणा राखे ।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तिजन्य पदार्थ रहित दिवस वर्षमा एक दिनमात्रै नभनी वर्षैभरि नियमित रुपमा विभिन्न प्रभावशाली कार्यक्रमहरुको आयोजना गरेर मनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘यसलाई अभियानकै रुपमा लिएर देशव्यापी जानुपर्छ ।’ सबै सचेत नेपालीहरुले यसलाई अभियानको रुपमा अघि बढाउन सकिएमात्रै साँच्चिकै यो दिवसको महत्व रहने पनि उनको भनाई छ ।

घर, परिवार, समूदायलगायत विद्यालय, देशका विभिन्न संघ तथा संस्थाहरु सबैले सुर्तीजन्य पदार्थमुक्त बनाउनुपर्ने पनि भट्टले सुझाए । देशका ७५३ वटै स्थानीय तह, ७ प्रदेश र संघीय सरकार तीन तहकै सरकारले यसलाई विशेष महत्व दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले नेपालमा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक सुनाए ।

धुम्रपानको कारण मानिसहरुमा नसर्ने रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास)को जोखिम बढेको भन्दै यसलाई नियन्त्रण गर्नुको विकल्प नरहेको जानकारी दिए ।

खड्काका अनुसार नेपालमा धुवाँको रुपमा सूर्तिजन्य पदार्थ १८ प्रतिशत र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए ।

डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत रहेको पनि खड्काले तथ्यांक जानकारी दिए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे ।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य, शिक्षा प्रशासक महेश्वर श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक रमेश प्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।

यसैबीच नेपाल जनस्वास्य संगले शुक्रबार विश्वभरि मनाईने सुर्तिजन्य पदार्थ रहित दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

यस सन्दर्भमा संघको केन्द्रिय कार्यसमितिले उपत्यकाभित्रका १५ वटा जनस्वास्थ्य अध्यापन गराउने कलेजमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरि तिनीहरुमार्फत उपत्यकाका ३० वटा सामूदायिक विद्यालयमा सुर्तिजन्य पदार्थको सेवन र यसका कानुनी प्रावधानबारे प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा प्रत्येक विद्यालयमा पोष्टर, पाम्प्लेट, लिफलेट र साईनेजहरुसमेत टाँस गरिने कार्यक्रम रहेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *