हिजो जुस पिएकी प्रत्यारोपण केन्द्रकी नर्स शेर्पाले अनसन तोडिनन्

काठमाडौँ, ६ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनबीच दश बुँदे सम्झौँता पछि हिजो जुस पिएकी डिक्की शेर्पाले आज फेरी आफ्नो अनसन जारी रहेको बताएकी छन् । उनले आफूलाई हिजो झुक्याएर जुस पिलाएको भन्दै दश बुँदे सम्झौँता आफूले नमान्ने बताएकी हुन् ।

हिजोको सम्झौँतामा अनशनरत शेर्पाको तर्फबाट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका रबिता सितिखु, प्रबिना कार्की र सजना देउलाले हस्ताक्षर गरेका थिए । प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेल र नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाको रोहवरमा भएको सो सम्झौँताको नवौँ नम्बरको बुँदामा शेर्पाले अनसन तोड्ने उल्लेख थियो ।

तर शेर्पाले आज सामाजिक सञ्जाल फेसबुकबाट भिडियो प्रशारित गर्दै आफूलाई थाहा नभएको बेलामा आफ्ना माग विपरित सम्झौँता भएको भन्दै त्यसमा आफूलाई मान्य नहुने बताइन । ‘हिजो मेरो मुटुको चाल एकदमै बढेको थियो । चिकित्सकहरुले त्यसलाई घटाउन र सुताउन लो डाइजोपोम इन्जेक्सन दिइएको थियो । त्यसपछि सम्झौँता गरिएछ मैले राम्रोसंग बुझिन् । त्यसैले जुस खुवाएकै भएपनि अनशन जारी छ,’ उनले भनिन् ।

यता शेर्पाका तर्फबाट सम्झौँता गरेकी नर्स रबिता सितिखुले हिजो अनसन तोडिएको तर आज फेरी जारी रहेको बताइन ।’ हिजो त हामीले साइन गरेको हौँ । तर शेर्पालाई उसलाई औषधि खुवाइएको रहेछ । त्यो थाह थिएन । आज उसले फेरी मानिनन,’ सितिखुले भनिन् । उनले दश बुँदे सम्झौँता ठिकै जस्तो लागेकोले हस्ताक्षर गरेको बताइन ।

नेपाल नर्सिङ संघकी अध्यक्ष पोखरेलले भने आफूले यस विषयमा थप बुझेर मात्रै कुरा गर्ने बताइन । ‘हिजो जुस मैले नै पिलाएको हो । आज फेरी त्यस्तो कुरा भएको छ भने त राम्रो भएन । के रहेछ म बुझेर मात्रै भन्न सक्छु.’ उनले भनिन् ।

यो पनि पढ्नुहोस्…..

प्रत्यारोपण केन्द्रका नर्ससंग १० बुँदे सहमति, आन्दोलन स्थगित (यस्ता छन् सम्झौँताका बुँदा)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *