बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान


काभ्रेपलाञ्चोक, १ जेठ । स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।

बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम आयोजना गर्नेबारे छलफल भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । विभिन्न परीक्षणबाट ती युवकमा इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएको पुष्टि भएको थियो ।

केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बर्डफ्लु रोगविरुद्धको सचेतना कार्यक्रम पाँचखाल नगरपालिकाबाट शुरु गरिएको बताए । उनका अनुसार सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रमले पाक्दा पनि यदि मासुमा कुनै पनि भाइरस भए पनि मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा सचेतना गराइएको छ ।

नगरप्रमुख महेश खरेलले भने, “सचेतना कार्यक्रममा बर्डफ्लु रोग तथा यसबारे फैलिएको भ्रमबारे प्रष्ट पारिएको छ ।” जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले प्रत्येक स्थानीय तहमा यस्तै सचेतना दिइँदै जाने कार्यक्रम तय गरेको छ । “अन्य स्थानीय तहसँग सचेतना कार्यक्रम गर्नेबारे छलफल भइरहेको छ”, केन्द्र प्रमुख डा शाहले भने । उनका अनुसार जिल्लाका ३५० किसान व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका छन् ।

केन्द्रीय राजधानी काठमाडौँ लगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि केन्द्रले गत चैत अन्तिम सातादेखि कुखुरापालक किसानलाई जैविक–सुरक्षा (बायो–सेक्युरिटी) सचेतना अभियान सञ्चालन गर्दै आएको थियो । केन्द्र प्रमुख शाहले भने, “हाम्रो प्राविधिक संलग्न टोलीले किसानको फार्र्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसङ्क्रामक ९डिसइन्फेक्टेन्ट० औषधि छर्ने विधि र कुखुरा हेरालुलाई समेत पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाउँदै आएका छौँ ।” उनका अनुसार हालसम्म जिल्लाको कुनै पनि क्षेत्रमा बर्ड फ्लुजन्य सङ्क्रमण भने भेटिएको छैन ।

केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को निर्देशनमा गत चैत दोस्रो साता काभे्रपलाञ्चोकको तीनवटा नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा जाँच चौकी राखिसकेको छ ।

जाँच चौकीमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको छ । जाँच चौकीमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *