किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

लमही, १ जेठ ।  तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताए । उनका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ ।

उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ । उनले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताए । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ ।

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताए।

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *