प्रादेशिक आयुर्वेदमा ‘फाइमोसिस’ सेवा शुरु


लमही, १ जेठ । दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो ।

बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो । “अस्पतालमा लिङ्ग नखुल्ने बच्चाको सङ्ख्या धेरै आउन थाल्यो”, डा ठाकुरले भने, “त्यसैले हामीले यो सेवा पनि शुरु गरेका हौँ ।”

आयुर्वेदको यो पुरानो पद्धति भए पनि प्रादेशिक आयुर्वेदमा पहिलोपटक शुरु भएको डा ठाकुरको भनाइ छ । यो सेवा शुरु भएसँगै दैनिक दुई÷तीन तथा कहिलेकाहीँ पाँच जनासम्म आउने गरेको उनको भनाइ छ । उक्त शल्यक्रिया १० वर्षसम्मका बच्चालाई गर्न सकिने डा ठाकुरको भनाइ छ ।

“हामीले धेरै बिरामी आउन थालेपछि यो सेवा शुरु गरेका हौँ”, उनले भने, “त्यसैले यसको शुल्क रु दुई हजार मात्रै लिने गरेका छौँ ।” साथै उक्त शल्यक्रिया गर्नका लागि विभिन्न औजार पनि भित्रिसकेको भन्दै ती औजार खरीद भएमा थप सहजता हुने उनको भनाइ छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१७ निवासी सपना घर्तीले आफ्नो छोराको उक्त समस्या समाधानका लागि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गइन् । त्यहाँ शल्यक्रिया गरेको रु आठ हजार लाग्ने भनेपछि केही स्वास्थ्यकर्मीको सल्लाहमा प्रादेशिक आयुर्वेद औषधालयमा ल्याउइन् । यहाँ ल्याएपछि सफल शल्यक्रिया भएको उनको भनाइ छ । चिकित्सालयले उनका छोराको पहिलोपटक शल्यक्रिया गरेको हो ।

के हो फाइमोसिस ?

बच्चा (पुरुष)को जनेन्द्रीय अर्थात् लिङ्गको टुप्पाको डल्लो (सुपाडी) लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ । जन्मदाखेरि कुनै पनि बच्चाको लिङ्गको टुप्पाको छाला पछाडि जाँदैन अर्थात् छालाले टुप्पो छोपेको हुन्छ । भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वाभाविक हो ।

तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ । जन्मेको छ महीनापछि आफसेआफ लिङ्गको टुप्पाको छाला पछाडि सर्किनु पर्छ । अर्थात् खुल्दै जानुपर्छ र लिङ्गको टुप्पाको डल्लो अर्थात् सुपाडी देखिनुपर्ने हुन्छ । तर आजकल धेरै बच्चामा फाइमोसिस समस्या देखिने गरेको छ । जसले गर्दा बच्चामा पिसावको सङ्क्रमण हुँदै मिर्गौलाको सङ्क्रमणसम्म हुन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *