प्रत्यारोपण केन्द्रले भन्यो, ‘करारका कर्मचारीबारे गम्भीर छलफल भइरहेको छ’

काठमाडौँ, ३१ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लोकसेवा आयोगको परीक्षामा अनुतीर्ण हुनसक्ने करारका कर्मचारीहरुको व्यवस्थापनबारेमा गम्भीर छलफल भइरहेको जनाएको छ ।

केन्द्रका लागि लोकसेवाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेपछि त्यहाँ कार्यरत पुराना कतिपय नर्सहरु आन्दोलनमा उत्रिएका छन् । स्वत: वा आन्तरिक प्रतिस्पर्धामार्फत आफूहरुलाई स्थायी गरिनुपर्ने माग राख्दै उनीहरु मध्येका एक जना नर्स आमरण अनसन समेत बसेकी छन् ।

मंगलबार बेलुकी अस्पताल प्रशासनद्धारा जारी विज्ञप्तीमा केन्द्रमा कार्यरत कर्मचारीहरुकै माग बमोजिम लोकसेवा आयोगबाट स्थायी पदपूर्ती प्रक्रिया शुरु भइसकेको भन्दै आमरण अनशनमा बसेकी स्टाफ नर्सलाई अनशन तोड्न अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालमा आएका अभिव्यक्ति भ्रमपूर्ण

यसैबीच केन्द्रले सामाजिक सञ्जालको प्रयोग गरी केन्द्रका कतिपय चिकित्सक तथा नर्सहरुद्धारा अभिव्यक्त सामग्रीलाई दुष्प्रचारको संज्ञा दिएको छ । उसले गरीव नेपालीको आस्था र भरोसाको केन्द्रलाई तहस नहस बनाउने उद्धेश्यले त्यस्ता तथ्यहिन टिप्पणी आएको भन्दै भत्र्सना गरेको जनाएको छ ।

केही दिन अघि केन्द्रमा कार्यरत डा सम्पूर्णमान तुलाधरले केन्द्रमा उपचार भन्दा अनियमितता, भ्रष्टाचार बढेकोे, खरीद गरिएका महंगा उपकरणहरु प्रयोग विहीन अवस्थामा रहेको र त्यसमा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको बदनियत देखिएको भन्दै आफ्नो फेसबुक पेजमा लेखेका थिए ।

केन्द्रले सोही टिप्पणीको जवाफ लेख्दै कपोलकल्पित र भ्रामक भनेको हो । उसले विज्ञप्तीमा मुटुको उपचार भइरहेको तर अप्रेशन नभएको बताएको छ । छ बर्षको अवधीमा ६१४ जनाको मिर्गौला प्रत्यारोपण भएकोमा ९९ प्रतिशत सफलता पाएको, पछिल्लो ४०० जनाको प्रत्यारोपणमा सतप्रतिसत सफलता हासिल गरेको, मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको, मस्तिस्क मृत्यु भएका व्यक्तिबाट झिकेर ६ जनाको मिर्गौला र एक जनाको कलेजो प्रत्यारोपण गरेको विवरण सार्वजनिक गरेको छ । उसले केन्द्रबाट बार्षिक करीब ३० हजार सेसन डायलासिस हुने गरेको जनाएको छ ।

यस्तो छ विज्ञप्ती

मिति २०७६।०१।३१

विज्ञप्ती

यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत कर्मचारीहरुकै माग बमोजिम लोकसेवा आयोगवाट स्थायी पदपूर्ति प्रक्रिया सुरु भैसकेको अवस्थामा लोकसेवाको परीक्षा नतिजा प्रकाशन पश्चात पनि यस केन्द्रको सेवा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनबारे सम्बन्धित सबै पक्षसँग गम्भिर छलफल भैरहेको व्यहोरा जानकारी गराइन्छ । तसर्थ विगत केहिदिन देखि आमरण अनसन बस्नु भएकी स्टाफ नर्सको जिउ ज्यानको सुरक्षाको लागि अविलम्ब अनसन तोड्नु हुन अनुरोध गर्दछौँ र यस कार्यमा सम्बन्धित सबै पक्षको सहयोगको अपेक्षा गर्दछौं ।

विगत केही दिन यता फेसबुक लगायतका समाजिक सञ्जालमा यस केन्द्रको बारेमा दुष्प्रचार गर्ने अभिप्रायले गरीब नेपालीको आस्था र भरोषाको केन्द्रलाई तहस नहस बनाउने उद्देश्यले गलत प्रकारका तथ्यहिन टिप्पणी प्रति घोर भत्र्सना गर्दछौं ।

भक्तपुर आसपासका र देशकै सर्वसाधारण जनातामा मुटुको सेवा समेत सहज र सुलभ रुपमा उपलब्ध गराउने पवित्र उद्देश्यले यस केन्द्रमा मुटुको सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको व्यहोरा जानकारी गराइन्छ ।

कार्डियोलोजी सेवा तर्फ ओ.पि.डि., इको, क्याथ ल्याब लगायतको सेवा भइ रहेको र अत्याधिक चाप रहेको व्यहोरा अनुरोध छ । मुटुको अप्रेशनको लागि हप्तामा २ दिन सोमवार र शुक्रवार अत्याधुनिक अप्रेशन थियटर छुट्याइएको भएता पनि तोकिएको दिन र समयमा सम्बन्धित चिकित्सकहरु केन्द्रमा नियामित उपस्थित नभएकोे र अन्य अस्पतालवाट मुटुको ऐनेस्थेसियोलोजिष्टमा भर पनुपर्ने तथा विरामीहरु समेत स्थापित संस्थामा अप्रेसन गर्न जाने हुँदा नियमित मुटुको अप्रेसन हुन नसकेको व्यहोरा जानकारी गराइन्छ ।

यस केन्द्रले ६ बर्ष अवधिमा ६१४ जानको मृगौला प्रत्यारोपण ९९ प्रतिसत सफलताका साथ सम्पन्न गरेको, पछिल्लो ४०० जनाको मृगौला प्रत्यारोपणमा सत प्रतिसत सफल रहेको र देशमै पहिलो पटक ४ जनाको कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिवाट प्राप्त अङ्गवाट ६ जनामा मृगौला प्रत्यारोपण र १ जनाको कलेजो प्रत्यारोपण गरेको तथा वार्षिक करिब ३०,००० सेसन डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको व्यहोरा जानकारी गराइन्छ ।

यस केन्द्रको वदनाम गर्ने उदेश्यका साथ केन्द्रमा कार्यरत केही कर्मचारीहरुको सम्लग्नतामा बदनियत पूर्ण तरिकाले केन्द्रको वारेमा गलत र भ्रामक सूचना प्रवाह गरीरहेको प्रति समेत सम्बन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं ।

यस्तो भ्रामक र कपोलकल्पित समचार प्रति सजग भई नेपाल सरकारको भर्खरै बामे सर्दै गरेको संस्थालाई अझ सुदृढ बनाएर अघि बढाउनको लागि सम्बन्धित सबै सरोकारवालावाट पुर्ण सहयोगको अपेक्षा गर्दछौं ।

अस्पताल प्रशासन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *