विपन्न उपचार कोषका लागि नपुग बजेट रकमान्तर गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक बर्षका लागि विपन्न उपचार कोषमा नपुग भएको बजेट खर्च नहुने कार्यक्रमबाट रकमान्तर गरी मिलाउने तयारी गरेको छ ।

कोषका लागि चालु आर्थिक बर्षका छुट्याइएको बजेट पहिलो चौमासिकमै सकिएपछि मन्त्रालयले अन्य कार्यक्रमबाट बजेट रकमान्तर गर्न लागेको हो ।

कोषले विपन्न नागरिकलाई आठ वटा कडा रोगको उपचारमा सहुलियत दिदै आएको छ । ती कडा रोगमा मुटु, क्यान्सर, मिर्र्गौला, अल्जामर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनिमिया रहेका छन् । कोषले मिर्गौला बाहेक अरु रोगको उपचार सूचीकृत अस्पतालमा गरेमा १ लाखसम्म सहुलियत दिने गरेको छ ।

मिर्गौैलामा भने डायलासिस निशुल्क, प्रत्यारोपणका लागि बढीमा ४ लाख ५० हजार र त्यसपछि औषधि उपचारका लागि नगद १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

गत मंसिर देखि ती रोगको उपचार गरिरहेका सूचीकृत अस्पतालले रकम भुक्तानी पाएका छैनन् ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले बजेटको भोलुम नै कम हुँदा छिटो सकिएको बताए । ‘अघिल्लो बर्ष पनि यसैगरी सकिएको थियो । पछि मिलाइयो । अहिले पनि भएको त्यस्तै हो । र यो मिल्दै जान्छ,’ उनले भने

उनले अहिले पनि आफूहरुले रकमान्तरका लागि स्वास्थ्य हुँदै अर्थ मन्त्रालयसम्म फाइल पठाइसकेको बताए । रकम स्वास्थ्य हुँदै अर्थमा पठाएका थियौँ । त्यसको सुनुवाई भएको छ र अब रकमान्तर गर्न स्वीकृति भएको छ, उनले भने खर्च नहुने शिर्षकका बजेटलाई त्यहा लगरे प्रयोग गर्न मिल्ने गरी स्वीकृति भएको बुझिएको छ ।

स्वास्थ्य सेवा विभाग कर्मचारी स्रोतका अनुसार मंसिर देखि फागुनसम्मको नपुग रकम ७८ करोड, ७७ लाख १९ हजार छ । चैत देखि असार मसान्तसम्म थप ७२ करोड ३८ लाख चाहिने विभागको अनुमान छ । यस हिसावले १ अर्व ५१ करोड १५ लाख २७ हजार बजेट नपुग हुने देखिएको छ ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार सरकारले चालु आर्थिक बर्षको बजेटमा विपन्नलाई दिइने कडारोगको उपचार सहुलियतका लागि १ अर्व १० करोड ५४ लाख रुपैयाँ छुट्याएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *