यात्रामै प्राथमिक उपचार !


बलेवा, २६ वैशाख । बागलुङमा सार्वजनिक बसभित्रै प्राथमिक उपचार सेवा शुरु भएको छ । ‘वेलनेश टिम’ काठमाडौँको सहयोगमा धौलागिरि अञ्चल यातायात बस व्यवसायी समिति बागलुङले जिल्लामै पहिलो पटक बसभित्रै प्राथमिक उपचार सेवा शुरु गरेको हो ।

समितिमा आबद्ध दुई सय वटा बसमा ‘फस्ट एड बक्स’ प्राथमिक उपचार बाकस राखिएको छ । ‘फस्ट एड बक्स वेलनेश टिम’की अध्यक्ष नितु खड्का र बागलुङ नगरपालिका–३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाले समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गर्दै बसभित्र हुनसक्ने सम्भावित सामान्य दुर्घटनाका बेलामा यसलाई प्रयोग गर्न सक्ने बताइन् ।

‘हरेक घर फस्ट एड बक्स’ भन्ने नाराका साथ नेपालमै पहिलो पटक बागलुङबाट बाकु वितरण शुरु गरिएको वेलनेस्टकी अध्यक्ष नितु खड्काले जानकारी दिइन् । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रुहरु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताइन् ।

प्रतिबक्स रु एक हजारमा वितरण गर्ने जनाएको ‘वेलनेशले’ आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम रु ५० सम्ममा वितरण गर्ने जनाएको छ । प्राथमिक उपचार बक्समा चोटपटक र घाउलाग्दा रगत रोक्ने औषधि, टाउको दुःखेको, पेट दुःखेको, बान्ता नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजारहरु रहेको वेलनेश समूहका सचिव ओमविक्रम खड्काले बताए । बाकस वितरणसँगै सरोकारवालाले यसको निरन्तरतामा जोड दिएका छन् । अहिले चलेको अभियानले निरन्तरता पाउन सके मात्र राम्रो हुने बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताए।

“धेरै जस्तो कार्यक्रम केही समय चल्ने र पछि आफँै बन्द हुने समस्या देखिएको छ,” वडाध्यक्ष बाँस्कोटाले भने, “यसलाई सबैले सहयोग गरेर भए पनि सधैँभरि सञ्चालन गर्न जरुरी छ ।” यात्रुको सुरक्षाका लागि बस व्यवसायी समितिले प्राथमिक उपचारको व्यवस्थालाई निरन्तरता दिने जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *