विपन्न उपचार कोषका लागि सरकारले छुट्याएको रकम चार महिनामै सकियो

काठमाडौँ, २६ बैशाख । विपन्न नागरिकलाई आठ वटा कडा रोगको उपचार गर्न सरकारले छुट्याएको चालु आर्थिक बर्षको बजेट पहिलो चार महिनामै सकिएको छ । बजेट सकिएपछि उपचार गर्ने अस्पताल तथा विरामीले गत मंसिर यताको सोधभर्ना रकम पाएका छैनन् ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार सरकारले चालु आर्थिक बर्षको बजेटमा विपन्नलाई दिइने कडारोगको उपचार सहुलियतका लागि १ अर्व १० करोड ५४ लाख रुपैयाँ छुट्याएको थियो ।

‘सो रकम कात्तिक मसान्त सम्ममै सकियो । मंसिर यता सूचीकृत कुनै पनि अस्पतालले उपचार बापतको रकम पाएका छैनन् । यस्तै मिर्गौला प्रत्यारोपण पछि व्यक्तिलाई औषधि खरीदका लागि भनेर दिइने रकम समेत उपलव्ध हुन सकेको छैन,’ सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा. माधव लम्सालले भने ।

महाशाखाले बजेट अपुग भएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ‘बजेट सकियो । मंसिर देखि फागुनसम्मको ४ महिनाकै ७८ करोड, ७७ लाख १९ हजार पुगेको छ ।अब चैत देखि असार मसान्तसम्म थप ७२ करोड ३८ लाख चाहिने अनुमान छ । यस हिसावले १ अर्व ५१ करोड १५ लाख २७ हजार बजेट नपुग जस्तो देखियो । यसको विवरण मन्त्रालयलाई पठाईसकेका छौँ । अब त्यताबाट आएपछि बल्ल भुक्तानी होला,’ शाखा प्रमुख डा. लम्सालले भने । 

महाशाखाको अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म विपन्न नागरिक उपचार कोषबाट सुविधा लिने विरामी ३५ हजार ३६२ जना पुगेका छन् । ती मध्ये सबैभन्दा बढी अर्थात २३ हजार ९६८ जना क्यान्सर रोगका विरामी छन् । सबैभन्दा कम भने अल्जाइमर्स रोग बाट ६९ जना रहेका छन् ।

सरकारले मिर्गौला, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स र सिकल सेल एनिमिया गरी ८ वटा कडा रोग लागेका विपन्न नागरिकको उपचारमा कम्तीमा १ लाखकको दरले आर्थिक सहयोग उपलव्ध गराउँदै आएको छ । मिर्गौलामा भने सहयोग रकम अरु रोगको तुलनामा बढी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “विपन्न उपचार कोषका लागि सरकारले छुट्याएको रकम चार महिनामै सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *