औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा

खलङ्गा, २४ वैशाख । अज्ञात रोगले जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीमा पूरै गाउँले बिरामी परेपछि औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा पुगेका छन् । यहाँ बिरामी भएकाको स्वास्थ्य जाँचपछि गाउँमा मौसमी रुघाखोकी भएको ताम्ती स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।
रोग फैलिएको जानकारी भएपछि आज औषधिसहित स्वास्थ्यचौकीबाट गाउँमै पुगेर बिरामीको स्वास्थ्य अवस्था जाँच गरी उपचार गरिएको उनले बताए ।  उनका अनुसार आज बिहान १० बजेबाट दिउँसो २ बजेसम्म १५२ बिरामीको स्वास्थ्य जाँच र उपचार गरिएको थियो ।
सो जाँचमा ३९ बालबालिका रहेका उहाँले बताउनुभयो । मौसमका कारण समस्या देखिएको र अब विस्तारै सुधार हँुदै जाने उनले जानकारी दिए । बिरामीले शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए । तातोपानी– ७ का अन्य गाउँमा समेत रुघाखोकी फैलिएको आंशिक जानकारी भएको र आजै गाउँ पुगेर बिरामीको स्वास्थ्य बुझ्ने समेत उहाँले जानकारी दिए ।
बाल विवाह कायमै
जुम्लामा बाल विवाह अझै कायमै  छ । बाल विवाह र छाउपडी प्रथाले सामाजिक संरचना बिगारेको तिला गाउँपालिका–१ का स्थानीय कोलबहादुर रावतले बताए । उमेर नपुगेर केटाकेटीको इच्छा विपरीत जात, धर्म, परम्परा आदिका नाममा बाल विवाह र छाउपडी प्रथा हुने गरेकाले सामाजिक संरचना बिगारेको दयार गाउँका दन्त शाहीले बताए । मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान भए पनि यहाँ बाल विवाह जस्तो सामाजिक कुप्रथा कायमै छ ।
बाल विवाह परम्परागत सामाजिक अभ्यास भए पनि अहिले यसलाई कुसंस्कारको रुपमा लिइन्छ । समाज सुधार गर्न र विभिन्न प्रतिबद्धता पूरा गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी प्रयास गरे पनि त्यो गाउँस्तरसम्म पुग्न नसकेको शाहीको भनाइ छ । बालिका रजश्वला हुनुभन्दा पूर्व नै विवाह गर्दा धार्मिक एवं सामाजिक दृष्टिकोणबाट उपयुक्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास र परम्पराका कारण पनि बाल विवाह हुने गरेको रावतले बताए ।
बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि बाल विवाहजस्ता गैरकानूनी कार्य हुने गरेको स्थानीय सेतु शाहीले जानकारी गराए । सामाजिक, रीतिरिवाज, धार्मिक एवं सांस्कृतिक प्रचलनका कारणले छाउपडी प्रथा र बाल विवाह समाजमा यथावत रहेको स्थानीय रिवन परियारले बताउनुभयो । परम्परा र कुरीतिका कारणले गर्दा अहिलेसम्म पनि बाल विवाह नरोकिएको उनको भनाइ छ ।
सानै उमेरमा बालिका गर्भवती भएमा आफू स्वस्थ्य रहन र बच्चासमेत स्वस्थरुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै ज्यान जाने भएकाले बाल विवाहलाई रोक्नुपर्ने उनको सुझाव छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा भएको अन्तरपुस्ता अन्तक्र्रिया कार्यक्रममा सहभागी हिमा गाउँपालिका स्थानीयले बाल विवाह र छाउपडी प्रथा न्यूनीकरणका लागि कार्य योजना निर्माण गर्ने बताएका छन् ।   रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *