जुम्ला : सुरक्षित सुत्केरी अभियान


जुम्ला, १९ वैशाख । चन्दननाथ नगरपालिकाले सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेकोे छ । नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र संस्थागत स्वास्थ्यकर्मीको सल्लाह सुझावका लागि जनचेतना अभियान शुरु गरेको हो ।

चन्दननाथ नगरपालिकाको आयोजना र ब्रेक थ्रो एक्सनको सहयोगमा संस्थागत सुत्केरीका विषयमा अभियान सञ्चालन गरिएको हो । गर्भवतीको भेला, गर्भवती परीक्षण, सरसफाइ, जन्मान्तर, परिवार नियोजनसम्बन्धी जानकारी गराउँदै सचेतना अभियान थालिएको चन्दननाथ नगरपालिकाका नायबसुब्बा लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

तालीम स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्रबहादुर धरालाले यो अभियान निकै राम्रो भएको र अहिले गर्भवती जाँच तथा स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या वृद्धि भएको बताए । गर्भवती जाँच तथा संस्थागत सुत्केरी बढाउँदै कार्यक्रम प्रभावकारी बनाउन आमा समूह बैठक, घरदैलो भेटघाट, गर्भवती भेला निरन्तर गरिने उनले बताए ।

घरमा सुत्केरी हुँदा आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम नहोस् भनेर गर्भवतीलाई संस्थागत सुत्केरी हुन प्रेरित गर्न स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको सक्रियतालाई बढाइएको इन्चार्ज धरालाले बताए ।\

गर्भवतीलाई स्वास्थ्य सामग्री

नगरपालिका वडाभरिका ५० गर्भवती महिलालाई सरसफाइका सामग्री वितरण गरिएको छ । बुहक्षेत्रीय पोषण कार्यक्रमको सहयोग र नगरपालिकाको समन्वयमा साबुन, नेलकटर, ब्रस, टुथपेस्टलगायतका सामग्री वितरण गरिएको हो ।

गर्भवती महिलालाई सरसफाइमा सहयोग गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको चन्दननाथ नगरपालिका जुम्लाका सरसफाइ सम्पर्क व्यक्तिसमेत रहेका न्यौपानेले जानकारी दिए । यसमा सुनौला हजार दिनभित्रका आमालाई समेत सरसफाइ सामान उपलब्ध गराइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *