विभिन्न तहका १२५ जना डाक्टर ‘पुल दरबन्दी’मा राख्न सामान्य सहमत

काठमाडौँ, १७ बैशाख । सरकारले आठौँ देखि एघारौँँ तहसम्मका १२५ जना चिकित्सकलाई पुल दरबन्दीमा राख्ने कार्य अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो कार्य अघि बढाएको हो ।

पुल दरबन्दीको कार्य अघि बढेसंगै सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ ।

आठौँँ तहका ४० जना, नवौँ र दशौँ तहका ८० जना र एघारौँ तहका ५ जना गरी १२५ जनालाई पुल दरबन्दीमा राख्न स्वास्थ्यले प्रस्ताव गरेको थियो । सामान्यले सो प्रस्तावलाई स्वीकृति जनाउँदै निर्णयका लागि मन्त्रिपरिषद लैजाने भएको छ ।

‘सरकारी चिकित्सकहरुको केही असहमति थिए । हामीले समाधानका लागि दुई साता अघि अनौपचारिक छलफल गर्यौँ । र उपयुक्त विकल्प खोज्यौँ । त्यसका लागि पुल दरबन्दी विकल्प देखियो । र सोही अनुसार प्रस्ताव अघि बढ्यो । सामान्यमा त्यस बारेमा केही कन्फ्युजन रहेछ । त्यसको पनि हामीले स्पष्टीकरण दियौँ । अब त्यहाँबाट पनि काम अघि बढी सकेको अवस्था छ । बाँकी निर्णय गर्ने काम मन्त्रिपरिषदको हो,’ स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले भने ।

यता सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा दीपेन्द्र पाण्डेले आफूहरुले दिएको पुल दरबन्दी सम्वन्धी विकल्पमा सरकार सकारात्मक देखिएकोले आफूहरुले अहिलेको आन्दोलनको कार्यक्रम स्थगित गरेको बताए । उनीहरुले पुल दरबन्दीको प्रक्रिया नटुगिदै समायोजनको कार्य अघि बढाए आफूहरु त्यसमा सहभागी नहुने समेत स्पष्ट पारे ।

यसअघि समायोजन प्रक्रियाको विरोधमा सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *