शिशु स्वस्थ जन्मिएको छ भनेर कसरी चिन्ने ? कसरी बढ्नुपर्छ शिशु ?

- नेपाली हेल्थ
काठमाडौँ, १७ बैशाख । विश्व स्वास्थ्य संगठनका अनुसार जन्मदाको शिशुको उचाई कम्तिमा ४५ देखि ५० से.मी. को हुनुपर्दछ । सो शिशुको उमेर १ वर्ष पुग्दा उचाईँ २५ से.मी. थप हुनु पर्दछ । दोस्रो वर्षमा १२.५ से.मीे. थप हुनु पर्र्छ ।

तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ से.मी. का दरले थप हुदै जानु पर्दछ । यसरी वयस्क अवस्था सम्म आइपुग्दा महिलाको औसत उचाई १६३ से.मी. अर्थात ५ फीट ३ इन्च र पुरुषको औसत उचाइ १७६ से.मीे. अर्थात ५ फीट ७ इन्च भएको हुनु पर्दछ ।

यो मापदण्ड अनुसार उचाइ वृद्धि हुन नसकेको बालबालिका तथा वयस्कलाई पुड्के भनिन्छ । यस्तो खालको न्युन कुपोषणलाई दिर्घ कुपोषण पनि भनन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्, पुड्के बाबु आमाबाट जन्मेको छोरा छोरी पनि पुड्को हुने सम्भावना धेरै हुन्छ ।

उनका अनुसार एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति वा सन्तुलित आहारले अग्लो बनाउन सकिदैन । तसर्थ, ५ वर्ष भन्दा अगावै वालवालिकालाई पोषण युक्त खाना ख्वाएमा मात्र उक्त समस्यालाई हल गर्न सकिनेछ ।

उचाइ अनुसार तौल नबडेको अवस्थालाई ख्याउटेपन भनिन्छ । भोकमारी, कडा रोग जस्ता कारणबाट वालवालिकामा ख्याउटेपनको अवस्था उत्पन्न हुन्छ । यस्तो खालको न्युन पोषणलाई शिघ्र कुपोषण भनिन्छ ।

ख्याउटे पना भएको नभएको कसरी चिन्ने ? बच्चाको पाखुरा कति मोटो हुनुपर्छ ?

६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको वायाँ पाखुराको माथिल्लो बीच भागकोे (मोटाई नाप्ने टेप)को माध्यम द्वारा ख्याउटेपनको स्तर मापन गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वच्चा स्वस्थ जन्मदा पाखुराको मोटाई १० देखि ११ से.मी. हुनु पर्दछ भने जन्मेको १ वर्षमा १६ से.मी. हुनु पर्दछ । त्यस पछि प्रत्येक वर्ष ०.१५ से.मी.का दरले वृद्धि भई ५ वर्ष पुग्दा १७ से.मी. हुन्छ ।

शिशुको पाखुरा नाप्दा १२.५ से.मी. भन्दा माथी भएमा हरियो रंग अर्थात सामान्य अवस्था बुझ्न सकिन्छ भने १२.५ से.मी. भन्दा कम भएमा पहेलो रंग अर्थात मध्यम खालको कुपोषण र ११.५ से.मी. भन्दा कम भएमा रातो रंग अर्थात कडा कुपोषणको भनेर बुझ्न सकिन्छ ।

तौल कति बर्षमा कति ?

उमेर अनुसार हुनु पर्ने तौल नभएको अवस्थालाई नै कम तौल भनेर बुझ्नु पर्दछ । यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने तौलको आधारमा गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २.५ देखि ३.४ के.जी. हुनु पर्छ, जन्मिसकेपछि पहिलो ५ महिनामा जन्मदाको भन्दा दोब्बर हुनु पर्दछ भने १ वर्षमा तौल तेब्बर बढ्नु पर्दछ । यस्तै दोस्रो वर्षमा २.५ के.जी. थप हुनु पर्दछ भने तेस्रो, चौथो र पाँचौ वर्षमा २, २ केजी का दरले थप हुदै जानु पर्दछ । सो अनुसार नभएको अवस्थालाई कम तौल भनिन्छ ।

बोडी मास इन्डेक्स (बीएमआई) भनेकोे शरीरको उचाई र तौल बीच तादम्यता मापन गर्ने सुचक हो । यस बाट मानिसको कम, सामान्य, अधिक तौल र मोटोपनको अवस्था मापन गरिन्छ ।

शरीरमा हुने दीर्घकालिन शक्ति कमीको मापन पनि यसैबाट गरिन्छ । उचाईको आधारमा शरीरमा भएको तौल मापन गरी कस्तो खालको कुपोषण हो भन्ने पत्ता लगाइन्छ । वयस्क मानिसको वीएमआई १८.५ भन्दा कम भएमा कम तौल, १८.५ देखि २४ं.९९ सम्म भएमा सामान्य, २५ देखि २९.९९ सम्म भएमा अधिक तौल र ३० भन्दा बढि भएमा मोटोपन भन्ने बुझिन्छ ।

बीएमआई पत्ता लगाउन व्यक्तिको शरीरको तौल (केजीमा) लाई सोही व्यक्तिको उचाई (मिटरमा) निकाली त्यसलाई वर्ग गरी भाग गर्दा वीएमआई निस्कन्छ ।

कुपोषण र पुडको पना भनेको के हो ?
एक वा धेरै पोषक तत्वको न्युनता वा अधिकताबाट शरीरमा देखिने असमान्य अवस्था नै कुपोषण हो । सामन्यतया कुपोषणलाई न्यून पोषण तथा अधिक पोषण गरी दुई प्रकारमा विभाजन गरिएको छ ।

प्रोटिन, कार्बोहाइड्रेट, फ्याट तथा शुक्ष्म पोषक तत्वको कमी हुनु भनेको न्युन पोषण हो भने, असन्तुलित खानपान, निष्क्रिय जीवन शैलीका कारणले अधिक तौल हुनु वा मोटोपन हुनु भनेको अधिक पोषण हो । न्युन पोषणले वालवालिकामा पुड्कोपन, ख्याउटेपन र कम तौल जस्ता समस्याहरु देखा पर्दछन् ।

पुड्कोपन राष्ट्रिय पोषण समस्या हो भने यसले दिर्घकालमा देखाउने असरहरु सामाजिक तथा आर्थिक विकासका समस्याहरु हुन् । उमेर अनुसार हुनु पर्ने न्युनतम उचाई नहुनु पुड्कोपन हो त्यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने उचाईका आधारमा गरिन्छ ।

पोषण शाखा प्रमुख पराजुली भन्छन्, नेपालले विगत केही वर्षदेखि कुपोषणको समस्यालाई सम्बोधन गर्न विभिन्न किसिमका प्रयासहरु निरन्तर रुपमा गर्दै आइरहेको छ । ती प्रयासहरुले गर्दा पोषणको क्षेत्रमा उल्लेखनीय प्रगतिहरु भएका छन् ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्याङ्ग अनुसार सन् २०११ मा ५ वर्ष मुनिका ५७% बालबालिकाहरु पुड्कोपनाबाट ग्रसित भएको र सो संख्या सन् २०१६ मा घटेर ३५.८% पुगेको देखिन्छ । गर्भधारणदेखि दुईवर्षको उमेरकोवीचमै बालबालिकामा पुड्कोपनको विजारोपण हुन्छ जसको निवारण भविष्यमा संभव हुँदैन ।

त्यसैगरी नवजात शिशु मध्ये करिब आधाले (५५%) मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध खाएको र मात्र ६६% बालबालिकालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाइएको पाइएको छ । यी तथ्याङ्कहरु विश्व स्वास्थ्य सम्मेलन, २०२५ तथा दिगो विकास लक्ष्य, २०३० संग तुलना गर्ने हो भने ती लक्ष्यहरु हासिल गर्न नेपालले पोषणको क्षेत्रमा गरिने प्रयासहरुको गति अझै वढाउनु पर्ने देखिन्छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार, करिब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित छन् । त्यसैगरी शिशु तथा बाल्यकालीन पोषणले सिफारिस गरे अनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाहरुको संख्या भने करिब ४७ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको समन्वयनमा हेलन केलर इन्टरनेशनलले सन् २०१७ मा काठमाडौं उपत्यका १२ देखि २३ महिनाका बालबालिकाहरुमा अस्वथकर खाजा खुवाई सम्बन्धी गरेको सर्वेक्षण अनुसार ७५% भन्दा बढी बालबालिकाहरुले अस्वस्थकर खाजा खाइरहेको पाइएको छ । यसले उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा, विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *