बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन, १६ वैशाख । भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो । उनका अनुसार बीमाका दैनिक ६०० बिरामी अस्पताल आउने गरेका छन् ।
बीमा नभएका बिरामीको सङ्ख्या ७०० हाराहारी हुने गरेको उनले बताए । सो बहिरङ्ग सेवामा चार जना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिन सक्ने व्यवस्था गरिएको पौडेलले बताए ।
हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिन सक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो । अन्य बिरामीका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा बिन्दुको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकाले सरकारी अस्पतालमा बिरामीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको बताए ।
निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् ।    रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *