प्रत्यारोपण केन्द्रका नर्ससंग बार्ता गर्न प्राडा बर्माको संयोजकत्वमा उपसमिति

काठमाडौँ, १६ बैशाख । आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच सदस्यीय बार्ता टोली गठन गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा राकेश बर्माको संयोजकत्वमा पाँच सदस्यीय बार्ता उपसमिति गठन गरेको हो ।

सो उपसमितिमा मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह र प्रत्यारोपण केन्द्रका कार्यकारी अधिकृत हरिहर पोखरेल सदस्य छन् । सोही टोलीमा नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेल र मन्त्रालयका पूर्व नर्सिङ निर्देशक इश्वरी श्रेष्ठलाई आमन्त्रित सदस्य राखिएको छ ।

टोलीले हिजो ( आइतबार) नै आन्दोलनरत नर्सहरुसंग मागका विषयमा छलफल सुरु गरेको छ ।

केन्द्रको विकास समिति अध्यक्ष समेत रहेका मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेललाई भेटन आएका नर्सिङ टोलीसंग उपसमितिले छलफल गरेको हो ।

बार्ता उपसमितिका सदस्य डा सिंहका अनुसार हिजो नर्सहरुको गुनासो र समस्या सुन्ने काम भएको र सोही अनुसार उपसमितिले अस्पताल विकास समितिलाई प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।

‘हिजो केही विषयमा छलफल भयो । उहाँहरुको गुनासो सुनियो अव हामीले सोही अनुसार आज समितिलाई रिपोर्ट दिन्छौँ । त्यसपछि बाँकी काम समितिले गर्ला,’ डा सिंहले भने ।

गुनासो सुनाउन आएका नर्सहरुले खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्दा आफूहरुलाई अन्याय भएको गुनासो राखेका थिए ।
छलफल पछि उनीहरुले अस्पतालको सेवा सुचारु गर्न राजी भएको समेत टोली सदस्य डा सिंहले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *