दादुराको प्रकोप किन बढ्दै छ ?

काठमाडौँ, १५ बैशाख ।  सन् २०१९ भित्र नेपालबाट दादुरा निवारण गर्ने सरकारको लक्ष्य हो । तर यसको प्रकोप भने पछिल्ला दिनहरुमा झन झन बढी देखिन थालेको छ । चालु वर्ष सहित गएको तीन  वर्षको प्रकोप हेर्ने हो भने हरेक बर्ष यसको प्रकोप बढदो दरमा देखिएको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका अनुसार सन् २०१७ मा दादुराको प्रकोप ४ स्थानमा देखिएको थियो । ती चार स्थानमा ५४ जनामा यसको संक्रमण देखा परेको थियो ।

सन् २०१८ मा देशका विभिन्न ७ स्थानमा दादुरा रोग देखा पर्यो र त्यसबेला ५९ जनामा यो रोगको संक्रमण देखा परेको थियो । तर अहिले चालु बर्षको पछिल्लो चार महिनामा यसको प्रकोप ६ ठाँउमा देखिइसकेको छ भने संक्रमित हुनेको संख्या ७१ पुगेको छ ।

परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक गौतम भन्छन्, ‘पछिल्लो चार महिनामा सर्लाही, मकवानपुर, कपिलवस्तु, मोरङ, रुपन्देही र दाङमा प्रकोप देखा परेको हो ।’

उनले पहिले खोपको कभरेजमा नपरेका बालबालिकाहरुमा सो समस्या देखिन थालेको बताए । सरकारले नौ महिना देखि ५ बर्ष भित्रका बालबालिकालाई दादुरा विरुद्धको खोप एमआर दिइरहेको छ । तर त्यसमा कतिपय बालबालिकाहरु छुट्न पुगेका हुनसक्छन् । सोही कारणले पनि कभरेज संक्रमण देखा परेको हो,’ उनले भने ।

खोपको खरीद खर्च ४ अर्व बढी

सरकरकारले जन्मेदेखि पाँच बर्ष मुनिका बालबालिकाहरुको लागि दिइने निशुल्क एघार वटा खोपको खरीदका लागि बार्षिक ४ अर्व बढी खर्च गर्ने गरेको छ । बाल रोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटीद्धारा खोप सप्ताहको अवसरमा आयोजित कार्यक्रममा खोप शाखा प्रमुख डा गौतमले सो जानकारी दिएका हुन् ।

सो अवसरमा उनले एक जना बच्चाका लागि ११ वटा खोप लगाइदिँदा ४५ डलर ( करीब ५ हजार रुपैयाँ ) खर्च हुने जानकारी दिए । तर उनले खोपमा १ डलर खर्च गर्दा त्यसले १६ डलर बराबरको प्रतिफल दिने विश्वव्यापी मान्यता रहेको समेत सुनाए ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा कृष्णप्रसाद विष्टले खोपको महत्वको बारेमा चर्चा गरेका थिए । उनले खोप सम्वन्धी कानुन बनाउने दक्षिण एसियाली देशमा नेपाल पहिलो भएको भन्दै खोपलाई कानुनी रुपमै बालबालिकाको नैसर्गिक अधिकारको रुपमा उल्लेख गरिएको जानकारी दिए ।

कान्ति अस्पतालका निर्देशक डा गणेश राईले कडा भन्दा कडा रोगबाट बच्ने एक मात्र माध्यम खोप भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजानुपर्ने बताए ।

सोसाइटीका सल्लाहकार डा ज्योतिरत्न धाख्वाले सरकारले दिने गरेको निशुल्क खोप सबैभन्दा सुरक्षित भएको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे । कार्यक्रममा बालरोग विशेषज्ञ डा अरुणकुमार शर्मा, विनोदलाल बज्राचार्यले खोपको महत्वको बारेमा चर्चा गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले २४ देखि ३० मेसम्मको अवधीलाई खोप सप्ताहको रुपमा मनाउने गरेको छ । नेपालले भने सन् २०१२ देखि नै हरेक बर्ष बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *