प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन राजधानीमा शुरु

काठमाडौँ, ७ बैशाख । प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन आजबाट राजधानीमा शुरु भएको छ । विहान ९ बजे देखि होटल याक एण्ड यतिमा सम्मेलन शुरु भएको हो । यद्धपी सम्मेलनको औपचारिक उद्घाटन अपरान्ह ६ बजे उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्नेछन् ।

अंगप्रत्यारोपण सम्बन्धि संसारमा भएका उपलब्धीलाई नेपालमा पनि बिस्तार गर्ने र मस्तिष्क मृत्यु सम्बन्धि जनचेतना जगाउने सम्मेलनको मुख्य उद्धेश्य रहेको बताइएको छ । यसको आयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारेपण केन्द्र, अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाज रहेका छन् ।

‘ब्रिजिङ द ग्याप’ नाम दिइएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरु उपस्थित भएका छन् ।

सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञ आएको सम्मेलन आयोजक समितिका संयोजक डा पुकार चन्द्र श्रेष्ठले बताए । उनले सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, स्वास्थ्य अधिकारी, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता भएको समेत जानकारी दिए ।

प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन भन्दै यो सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका मेसु र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको छ ।

सम्मेलनको पहिलो दिन आज प्रत्यारोपण सम्वन्धी प्राविधिक विषयमा छलफल भएको छ र भोली मस्तिस्कमृत्यु सम्बन्धी छलफल हुने बताइएको छ । त्यसमा केन्द्र तथा स्थानीय तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता हुने बताइएको छ ।

नेपालमा मस्तिस्क मृत्यु सम्वन्धी कानुन बनेपनि त्यसको कार्यान्वयन अपेक्षा अनुरुप हुन सकेको छैन । ‘सम्मेलनको मुख्य उदेश्य विकसित देशहरुको अंगप्रत्यारोपणको अवस्था अनुभव र हाम्रो देशमा भएको प्रत्यारोपणको अवस्था र अनुभव साटासाट गर्ने नै हो । अथवा यो बीचमा के कस्तो ‘ग्याप’ छ भन्ने हेर्ने नै हो,’ संयोजक डा. श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *