समायोजनमा परेकामध्ये ५० प्रतिशत स्वास्थ्यकर्मीको गुनासो ?

काठमाडौँ, ६ बैशाख । चैतको अन्तिम साता स्वास्थ्य समूहको कर्मचारीको समायोजन सूची निकाले लगत्तै सामान्य प्रशासन मन्त्रालयले ‘साह्रै नै मर्का परेकाहरुले गुनासो गर्न सक्ने’ भन्दै एक साताको म्याद दिएको थियो ।

विहीबार सो म्याद सकिदै गर्दा गुनासोको संख्या समायोजनमा परेको कुल स्वास्थ्यकर्मीको संख्याको झण्डै ५० प्रतिशत जस्तो देखियो । अर्थात करीब आधाजसो स्वास्थ्यकर्मीले यो समायोजनले आफूलाई समस्या परेको भन्दै निवेदन दिए ।

गुनासो सुन्न तोकिएका स्वास्थ्य मन्त्रालयका फोकल पर्सनहरुमध्ये एक शम्भु काफ्लेका अनुसार आफ्नो मन्त्रालयमा प्रत्यक्ष उपस्थित भएर र इमेलका माध्यमबाट गुनासो गर्नेको संख्या करीब साढे ८ हजार छ । यस्तै सामान्य प्रशासन मन्त्रालयमा गएर दर्ता गराउने र त्यहाँ तोकिएका फोकल पर्सनको इमेलमा निवेदन पठाउनेको संख्या ५ हजार हाराहारीमा छ । दुबै मन्त्रालयको संख्या जोडदा करीब साढे १३ हजार वटा गुनासो परेका छन् । जबकी स्वास्थ्य समूहबाट समायोजन पर्ने कर्मचारीको संख्या २७ हजार ३०३ जना छ ।

‘यो हिसावले ठ्याक्कै कुल कर्मचारीमध्ये ५० प्रतिशतले समायोजनमा अप्टेरो परेको भन्दै गुनासो गरेको देखिन्छ । तर एकै व्यक्तिले धेरै जनालाई इमेल गर्ने, सामान्य र स्वास्थ्य दुबै ठाँउमा गएर निवेदन दर्ता गराउने र यसले एकै व्यक्तिको धेरै वटा निवेदन पनि परेको हुनसक्ने देखिन्छ । संख्याकै बारेमा अझ एकीन भन्न गाह्रो हुन्छ,’ स्वास्थ्यका फोकल पर्सन काफ्लेले भने ।

उनका अनुसार निवेदनमा वेजिल्ला सरुवा, तह तथा पद नमिलेको लगायतका समस्या बढी परेका छन् । यस्तै पूर्वको कर्मचारी सुदूरपश्चिम परेको, हिमालको तराई, तराईको हिमाल परेका जस्ता समस्या पनि बढी भएको बताए ।

यता कतिपय स्वास्थ्यकर्मीहरुले भने सामान्यले स्वास्थ्य समूहको समायोजनमा न्युनतम मापदण्ड समेत नअपनाएको आरोप लगाएका छन् । उनीहरुले समायोजन भन्दा पनि कर्मचारी सरुवा गरेजस्तो भएको भन्दै यसलाई खारेज गर्न समेत माग गरेका छन् ।

सामान्य प्रशासनका अधिकारीहरुले स्वास्थ्य समूहका कर्मचारी समायोजन गर्दा एप्सले समेत काम नगरेको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *