सूर्ति नियन्त्रण सम्बन्धि कानून बनाउन गण्डकी प्रदेश अगाडी

 

पोखरा, ५ बैशाख ।  गण्डकी प्रदेश सभाले विधायन समितिमा छलफलको क्रममा रहेको सूर्ति नियन्त्रण सम्वन्धी कानून चालु अधिवेशनबाटै पारित गर्ने तयारी गरेको छ । नसर्ने रोगको प्रमुख कारक रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कानून अत्यावश्यक देखिएपछि चालु अधिवेशनबाटै पारित गर्ने तयारी गरेको हो ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले बुधबार पोखरामा गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले चालु अधिवेशनबाटै सूर्ति नियन्त्रण सम्वन्धी कानून पारित गर्ने बताए ।

‘यो विषय जनताको स्वास्थ्यसंग जोडिएको विषय हो । यसमा ढिलाई गर्ने कुरै छैन । र कानुन जनपक्षीय हुनेछ,’ उनले भने । कतिपय सूर्ति उद्योगीहरुले व्यवसायलाई अफ्टेरो पर्ने भन्दै कानुन निर्माण गर्दा बिचार पुर्याईदिनु भन्दै आफूलाई समेत आग्रह गरेको प्रसंग उठाउँदै सभामुख अधिकारीले भने, ‘व्यापार भन्दा ठुलो जनताको स्वास्थ्य हो । यसमा सम्झौँता हुनै सक्दैन भनेर पठाइदिएँ ।’

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका समाजिक विकास मन्त्री नरदेवी पुनले सूर्ति उद्योगीहरु अहिले पनि आफू अनुकुल कानून निर्माण गर्न दवाव दिदै हिडेको बताइन । ‘यो त अच्चम्म रहेछ । धेरै कानुन बनाइयो । खासै अफ्टेरो भएन तर यो कानुन बनाउने कुरा सुरु गरे देखिनै यति प्रेसर आयो कि ? बर्णन गरिसाध्य छैन । हाम्रो मस्यौदाले भुकम्प नै ल्यायो कि जस्तो,’ उनले भनिन् ।

सूर्ति उद्योगीहरुले अहिले पनि कतिपय सांसदलाई भ्रम छर्न सकिन्छ भन्नेमा लागेको भन्दै त्यसमा नबहकिन आफूले सबैलाई सचेत गराएको समेत जानकारी दिइन ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपालले सूर्ति नियन्त्रण सम्वन्धी विद्यमान कानूनको व्यवस्था, कार्यान्वयनको अवस्था र प्रदेश तथा स्थानीय तहले खेल्नसक्ने भुमिका सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यमा पैरबी गर्दै आएको संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तिजन्य पदार्थ सम्वन्धी कानूनको आवश्यकताबारेमा प्रस्तुति दिएका थिए ।

उनले सूर्ति नियन्त्रण सम्वन्धी विद्यमान कानूनले के के कुरा गर्न मिल्ने र नमिल्ने भन्ने प्रष्ट उल्लेख गरेको भन्दै त्यसमा ध्यान दिन र कार्यान्वयन गर्न सम्वन्धित सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका अधिकारीहरु, पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *