बाँदरको मस्तिष्कमा मान्छेको जीन हालिदिएपछि…..

बीबीसी । मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्।

चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।

मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान् भएको उनीहरूले दाबी गरेका छन्।  तर,  केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन्।

चिनियाँ अनुसन्धानकर्ताहरुले बाँदरको मस्तिष्कले मान्छेको एमसीपीएच-१ जीन धारण गर्नसक्ने बताएका छन् । मानव मस्तिष्कको विकासमा यो जीनको भूमिका भएको विश्वास गरिन्छ । ती बाँदरले स्मरणशक्तिको जाँचमा राम्रो गरेको र प्रतिक्रिया पनि चाँडै दिएको बैज्ञानिकहरु बताउँछन् ।

परीक्षणमा  मान्छेमा जस्तै तिनको मस्तिष्क विकसित हुन पनि समय लाग्यो ।तर तिनको मस्तिष्कको आकार भने बढेन ।

परीक्षणमा समाविष्ट ११ मध्ये पाँचवटा बाँदर मात्र बाँचेका थिए । तर यसमा नैतिक प्रश्न उठाउन नहुने शोधकर्ताहरुको तर्क छ । उनीहरुका अनुसार मकाक प्रजातिको बाँदर आनुवंशिक रुपमा मानवभन्दा भिन्न छ । तर, त्यसमा धेरै जना असहमत छन् ।

बेलायतस्थित पशुकल्याणको क्षेत्रमा काम गर्ने आरएसपीसीए भन्छ बाँदरहरु धेरै भावुक र चेतनशील हुन्छन् । उनीहरुमा पीडा र दुख अनुभूत गर्न सक्ने क्षमता हुन्छ । तिनले मान्छेको जिज्ञासाका कारण ठूलो मूल्य चुक्ता गर्नु परेको छ ।

यो अनुसन्धानले ९० प्रतिशत समान जीन भएको बाँदरभन्दा मानवको मस्तिष्क कसरी आकार र क्षमता विकसित भयो भनेर पत्ता लगाउन खोजेको छ । अर्थात कुन जीनले हामीलाई बुद्धिमान बनाउँछ भनेर बैज्ञानिकहरुले पत्ता लगाउन खोजेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *