७० वर्ष माथिका जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य बीमा शुरु गर्दै सरकार

काठमाडौँ, १ बैशाख । सरकारले आज देखि ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्दैछ । नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज १० बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा  जेष्ठ नागरिकका लागि कार्ड वितरण गरी निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरु गर्दैछन् ।

त्यसका लागि ५५ जना जेष्ठ नागरिकलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री कार्यालय मुख्य आयोजक र नेपाल बैंकर्स एसोसिएशन सह आयोजक भएको आजको कार्यक्रममा जेष्ठ नागरिकका लागि बैंक खाता खोल्ने अभियानको समेत शुरुवात हुँदैछ । त्यसका लागि सरकारले जेष्ठ नागरिकका लागि १०० रुपैयाँको बैंक मौज्दात हुनेगरी खाता खोल्ने गरी अभियानको सुरुवात हुँदैछ ।

जेष्ठ नागरिकका लागि कसरी निशुल्क हुन्छ स्वास्थ्य बीमा ?
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार कार्ड पाइसकेपछि अब ७० बर्ष माथिका जेष्ठ नागरिकले स्वास्थ्य बीमा बापत बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । त्यसका लागि उनीहरुले कुनै पनि प्रिमियम तिर्नुपर्ने छैन । बर्ष पुगेपछि पुन यो सुविधा जेष्ठ नागरिकका लागि नविकरण हुनेछ ।

‘स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई बार्षिक रुपमा १ लाख सम्मको निशुल्क स्वास्थ्य उपचार सेवा दिने व्यवस्था गरेको छ । त्यसका लागि जेष्ठ नागरिकले पैसा तिर्नुपर्दैन,’ कार्यकारी निर्देशक पोखरेलले भने ।

उनले यदि कुनै जेष्ठ नागरिकले बार्षिक १ लाख भन्दा बढीको उपचार सुविधा लिन परेमा परिवारका सदस्यको हैसियतबाट पाउने थप एक लाख रुपैयाँँको उपचार सुविधा समेत पाउने बताए । तर त्यसका लागि बार्षिक रुपमा परिवारले तिनुपर्ने ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

कार्यकारी निर्देशक पौडेलले आजको कार्यक्रममा जेष्ठ नागरिक समूहका ५५ जना सदस्यहरुलाई कार्ड वितरण गर्ने तयारी भएको बताए ।

उनले जेष्ठ नागरिकको सुविधाका लागि पहिलो सम्पर्क विन्दु रिफरल हस्पिटलका रुपमा रहेका केन्द्रीय अस्पतालबाटै सेवा लिन सक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिए ।

‘काठमाडौँमा स्वास्थ्य बीमा लागू भईसकेको छैन तर आज कार्ड पाउने केही काठमाडौँका जेष्ठ नागरिक पनि छन् । उनीहरुका लागि वीर, पाटन, मनमोहन, गंगालाल जस्ता रिफरल हस्पिटलबाट सुविधा लिनसक्ने व्यवस्था मिलाइदैछ,’ पोखरेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *