नेपालमा स्वास्थ्य बीमा : ‘अवधारणा राम्रो तर सेवामा कमजोर’

काठमाडौँ, २८ चैत । सरकारले तीन बर्ष अघि देखि सुरु गरेको सामाजिक स्वास्थ्य बीमाको अवधारणा राम्रो भएपनि सेवा कमजोर भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले उपचारात्मक सेवालाई तत्काल सुधार नगरे स्वास्थ्य बीमा कार्यक्रम सफल नहुने ठोकुवा गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्धारा आयोजित स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलनको पहिलो दिन बुधबार स्वास्थ्य बीमा विषयमा प्रस्तुति तथा ‘प्यानल डिसकसन’ भएको थियो । सो क्रममा विज्ञहरुले स्वास्थ्य बीमा प्रति जनताको जति उत्साह छ सो अनुरुप सेवा दिन नसकेको बताए ।

कार्यक्रममा बोल्ने क्रममा बारा बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले विपन्न जनताको लागि बरदान मानिएको स्वास्थ्य बीमा कार्यक्रम सेवा लिन जाँदा अनुहार हेरेर पक्षपात गर्ने गरेको बताए । ‘रिफरल अस्पतालमा जाँदा बीमा गरेकाले समयमै उपचार पाउँदैनन् , औषधि दिइदैन, अनुहार हेरेर पक्षपात गरिन्छ । अब कसरी गरीब आकर्सित होस ?’

पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मीले दुर्गम क्षेत्रमा दर्ता सहायकको अभाव, उपचार सेवा पनि चुस्त नुहने, औषधि नपाइने लगायतको समस्या रहेको बताइन । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञानसंग आवद्ध उनले कर्णाली प्रदेशका कतिपय जिल्लामा लागू भएको बीमाको अनुभव बताएकी थिइन ।

कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सेवा प्रशासक सागर दाहालले वीमाले जन चाहना अनुसार काम भएको नभएको भन्ने बारेमा समिक्षा गर्नुपर्ने बेला आएको बताए । यता स्वास्थ्य मन्त्रालयका उपसचिव डा गुणनीधि शर्माले मन्त्रालय र बीमा बोर्डको सम्वन्धको बारेमा बोलेका थिए ।

त्यसअघि स्वास्थ्य बीमा बोर्डका सदस्य डा सतिशकुमार देव र स्वास्थ्य अर्थशास्त्री प्राडा शिवराज अधिकारीले स्वास्थ्य बीमाको बारेमा प्रस्तुति दिएका थिए । सो क्रममा डा देवले ४२ वटा जिल्ल्लामा लागू भएको स्वास्थ्य बीमामा अहिले १५ लाख जनता आवद्ध भईसकेको जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *