डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा, सदस्य राष्ट्रहरुको उपस्थिति भिडियोमा

काठमाडौँ, १५ चैत । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एशियाली सदस्य राष्ट्रहरुको क्षेत्रीय विशेष बैठक विहीबार राजधानी काठमाडौँमा सम्पन्न भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो विशेष बैठकमा सदस्य राष्ट्रका प्रतिनिधिहरुको भौतिक उपस्थिति भने थिएन । किनभने यसपटकको बैठक भिडियो कन्फरेन्सको माध्यमद्धारा गरिएको थियो ।

बैठकमा नेपाल सहित थाइल्याण्ड, भारत, इन्डोनेसिया, श्रीलंका, मालदिव्स, भुटान, म्यानमार, टिमोर लिष्टे, बंगलादेश, उत्तरकोरिया सहित सदस्य राष्ट्रका प्रतिनिधिहरुले आ आफ्नै देशमा बसेर ‘भिडियो कन्फरेन्स’ मार्फत आफ्ना धारणा राखेका थिए ।

सो बैठकले आगामी २ देखि ६ सेप्टेम्बरका लागि तय गरिएको ७२ औँ क्षेत्रीय बैठक भारतको राजधानी नयाँ दिल्लीमा गर्ने निर्णय गरेको छ । ‘यसअघि उक्त बैठक उत्तर कोरियाको राजधानी पोङ्याङमा गर्ने भनिएको थियो । विहीबारको बैठकले यसअघिको निर्णयलाई संसोधन गर्दै नयाँ दिल्लीमा गर्ने भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

बैठकको अध्यक्षता गरेका स्वास्थ्य मन्त्री यादवले भिडियो कन्फरेन्स मार्फत पहिलो पटक गरिएको बैठकमा सवै देशका प्रतिनिधिहरुको सक्रिय सहभागिता भएकोमा खुशी व्यक्त गरे ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले पहिलो पटक भिडियो कन्फरेन्समार्फत बैठक सफल बनाएकोमा नेपाललाई बधाई दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *