‘स्वास्थ्यको समायोजनको विवरण २० चैत भित्रै सार्वजनिक गर्छौं’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अन्तरगर्त कर्मचारीको समायोजन टुंगिएको भन्दै आज पत्रकार सम्मेलन गरेको छ । तर स्वास्थ्य समूहबाट समायोजनमा परेका २७ हजार ३०३ जना कर्मचारीको विवरण अझै सार्वजनिक गरिएको छैन् । यो अवस्थामा समायोजन टुंगियो भन्न मिल्छ ? सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियासंग  नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले प्रश्न सोधेका थिए । हेरौँ कुराकानीको सारसंक्षेप:

कर्मचारी समायोजन प्रक्रिया आजबाट टुंगिएको हो ?
संख्यात्मक रुपमा टुंगियो तर गुनासा सुन्न बाँकी छ । अहिले सकिएको भनेको संघमा कति गए ? प्रदेशमा कति गए ? स्थानीय तहमा कति गए ? को को गए ? भन्ने विषय टुंगियो । तर अब कोहीको श्रीमान श्रीमती एकै ठाँउमा परेन भन्ने गुनासा, कोही १ नम्बर प्रदेशको मान्छे ३ नम्बरमा पुगेँ भन्ने छ, कोही स्थानीय तह भन्दा टाढा पुगे भन्ने छ, कोही विरामी भए भन्ने छ । ऐनमा यी सबै व्यवस्थालाई सम्वोधन गर्ने प्रावधान छ ।

ऐनमा अलिकति अस्वस्थ छ, कडा रोग लागेको छ र मेडिकल बोर्डको सिफारिस छ भने उसलाई स्थानीय तहमै समायोजन भएको छ भने पनि उसले रोजेको ठाँउमा दिने व्यवस्था छ । अब फाजिलमा परेकोहरुलाई प्रदेश र स्थानीय तहमा पठाउने भन्ने छ । हुन त यो विषय टुंगिसकेको छ ।

भनेपछि श्रीमान श्रीमती छुट्टिने हो कि भनेर डराउन परेन ?

ऐनले  श्रीमान श्रीमतीलाई भरसक एकै स्थानमा भनेको छ तर एकै सेवामा भनेको छैन । त्यसकारण श्रीमान संघमा र श्रीमती प्रदेशमा पर्नु भयो भने  श्रीमानलाई पनि प्रदेशमा पठाउन पर्ने हुनसक्छ यदि खाली छ भने ।  किनभने समायोजनमा तलको कर्मचारी माथि आउन पाउँदैन तर माथिको तल जान सक्ने व्यवस्था छ । त्यो भएन भने संघबाट अलि नजिकै सरुवा गर्दिएर मिलाइदिन पर्न सक्छ ।

स्वास्थ्यको विवरण किन सार्वजनिक नभएको हो ?
स्वास्थ्यको कुन कुन ? कहाँ ? कति ? भनेर संख्या आएको छ । अब व्यक्ति को कहाँ परयो भनेर  चाहि अहिले विवरण सार्वजनिक भएको छैन । अहिले त्यसका केही बाँकी कामहरु भइरहेका छन् ।  सम्भवत बेलुका सम्म विवरण सार्वजनिक होला कि ।

उसो भए आज बेलुकासम्म स्वास्थ्यको विवरण सार्वजनिक हुन्छ ?

हो । सातौँ तहसम्मको चाहि अहिल्यै सकिन्छ । स्वास्थ्यमा के रहेछ भने चौथो पाँचौँ छैटौँ, पाँचौँ छैटौँ र सातौँ भन्ने रहेछ । बास्तवमा स्वास्थ्यको अत्यन्तै गल्झ्याङ रहेछ । त्यसमा केही केही कुरा अझै नमिलेको हुनाले  त्यसलाई मिलाउन टोली बसेको छ । आज बेलुका वा भोलिसम्ममा विवरण नेटमा हालिन्छ होला । जे होस २० चैत नाघ्दैन । किनभने २० गतेसम्म त हामीले गुनासो नै सुनि सक्नुपर्छ ।

अब गएको राती हाम्रो टोली एक झिमिक नसुतेर काम गरेको छ । यसले गर्दा अहिले केही रेष्टमा पनि होलान । त्यसैले आज अलि थकाई मारेपछि भोलिसम्ममा क्रमश विवरण सार्वजनिक गर्दछौँ । त्यसका आधारमा गुनासो केही राख्ने भए राख्छन् ।

स्वास्थ्यमा  के छ भने जो जहाँ काम गरेका छन् सकभर ती त्यहि परुन भन्ने हाम्रो उद्धेश्य छ । किनभने स्वास्थ्यमा अस्पतालमा काम गर्ने संख्या ठूलो छ ।

यसअघि सरकारी चिकित्सकहरुले भनिरहेका थिए नि हामीलाई संघ मातहतमा नै राखियोस भनेर त्यो विषय सम्वोधन गरियो ?
होइन, अहिले समायोजन मै हुन्छ । मानिलिउ ए भन्ने डाक्टर वीर अस्पतालको मेसिन चलाउने डाक्टर हो, त्यस्तोको संख्या ४ जना भयो । अब संघमा दरबन्दी २ जनाको छ । ४ जना नै दरबन्दी भएत केही गर्न नै परेन । तर कम दरबन्दी भयो र बढी जनशक्ति भयो भने मिलाउन पर्ने हुन्छ ।

अहिले हामीलाई परेको समस्या के पनि हो भने, दरबन्दी डाक्टरको छ, उसले विशेषज्ञता अर्को विषयबाट गरेको छ र स्पेशलाइजेशन गरेको ठाँउमा उसले दरबन्दी कायम गरी गएकै छैन । यस्तो अवस्था भयो भने त्यो जटिलता आउने गरेको छ । यसो भएको हुनाले  समायोजन गर्दा नीतिगत निर्णय के गरेको छ भने स्वास्थ्य सेवामा चिकित्सक वा विशेषज्ञ चिकित्सकलाई कुनै तहमा समायोजन गर्दा अहिले भइरहेको ठाँउको काममा गम्भीर असर पर्ने देखिएमा र त्यसको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेमा बाधा अडकाउ फुकाउ अधिकार अन्तरगर्त मन्त्रिपरिषदबाट निर्णय गराई सेवालाई निरन्तरता दिने गरी पदस्थापन गर्ने सम्म लेखेर समायोजन गरिएको छ ।

होइन चिकित्सकको माग आफूहरुलाई संघ अन्तरगर्त राखियोस, जान त जहाँ पठाए पनि गइन्छ भन्ने थियो नि त्यस विषयमा केही निर्णय भएको छ ?
होइन । त्यो त पाइदैन । त्यो त हुँदैन । हुँदैन मैले भनेको होइन है । समायोजन ऐनले भनेको कुरा हो । त्यहाँ यसलाई यसो उसो भनेको छैन । अहिले त जे जस्तो नीतिमा छ त्यहि अनुसार चल्नुपर्छ । बरु विशेषज्ञता हासिल गरेको अवस्थामा केन्द्रमा आउन सक्ने गरी ऐनमै व्यवस्था गरिसकेको छ । अहिलेको ऐनले समायोजनमा यो र उ भनेर छुट्याउँदैन । जुनसुकै विषयको विशेषज्ञ भएपनि तोकिएको ठाँउमा जानै परयो । तर सेवा अवरुद्ध हुने अवस्था आयो भने जस्तै कुनै एक डाक्टरलाई अन्यत्र पठाइयो । तर जाने ठाँउमा त्यो डाक्टरले आफ्नो क्षमता देखाउन विविध कारणले पाउँदैन । तर यता चाहि सेवा नै रोकियो भने त्यस्तोलाई हामी सल्टाउँछौँ ।

स्वास्थ्यका सहसचिवहरुको लिष्ट सार्वजनिक भइसकेपछि जो रोकिएको थियो नि । अब पुरानै लिष्ट आउँछ कि नयाँ लिष्ट ?
हो पाँचवटा अस्पताल संघमा स्तरोन्नती भएपछि स्वास्थ्य समूहका सहसचिव तहका कर्मचारीको समायोजन रोकिएको हो । अब स्तरउन्नती भएका अस्पतालको समेत दरबन्दी केन्द्रमा राखेर समायोजन गरिएको छ ।

भनेपछि सहसचिवहरुको पनि नयाँ लिष्ट निस्कने भयो ?
हो विल्कुलै नयाँ लिष्ट निस्कदैछ । अर्को कुरा हिजो एउटा कोशी अञ्चल अस्पताल प्रदेशको भनेको ठानेर फारम भरयो मान्छेले । अहिले त्यो अस्पताल संघको भइदियो । तर कर्मचारीलाई संघमा आउन इच्छा छैन भने । त्यस्तो अवस्थामा निवेदन हेरेर संघमा समायोजन भएपनि प्रदेशमा राखिदिने भन्ने पनि निर्णय छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘स्वास्थ्यको समायोजनको विवरण २० चैत भित्रै सार्वजनिक गर्छौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *