अनमी मीरा धितालले पाइन यसबर्षको ‘निक साइमन्स पुरस्कार’

काठमाडौँ, १२ चैत । स्वास्थ्य संस्थामा सुत्केरी गराउन अतुलनीय योगदान दिँदै समग्र स्वास्थ्य सेवा सुधारमा अग्रणी नेतृत्व प्रदान गरेवापत अनमी मीरा धितालले सन् २०१८ को ‘निक साइमन्स पुरस्कार’ प्राप्त गरेकी छन् ।

रौतहट महमद स्वास्थ्य चौकीमा कार्यरत उनले छोटो अवधिमा सो स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थासमेत बनाउन भूमिका निर्वाह गरेकी थिइन ।

छ वर्षको अवधिमा उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार विकासमा समन्वय गरी गर्भवती सेवा र विशेषतः स्वास्थ्य संस्थामा सुत्केरी गराउन जिल्लामा नै उल्लेखनीय योगदान दिएकी थिइन ।

गत वर्षमात्र सो स्वास्थ्य चौकीमा एक हजार २०० भन्दा बढी सुत्केरी भएका थिए ।

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन इन्ष्टिच्यूटद्वारा संयुक्त रुपमा आयोजित दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा आइतबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अनमी धिताललाई सो सम्मान प्रदान गरेका थिए ।

तीनदिने सो सम्मेलनमा ५६ जिल्लाका ग्रामीण क्षेत्रमा कार्यरत १२५ स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । इन्ष्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने स्वास्थ्य सम्मेलनमा एकजना स्वास्थ्यकर्मीलाई सो पुरस्कार प्रदान गर्ने गर्दछ । जीन तथा उनकी पत्नी म्यालिन साइमन्सले आफ्ना छोरा निक साइमन्सको स्मृतिमा सो इन्ष्टिच्यूट स्थापना गरी पुरस्कार प्रदान गर्दै आएका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि मन्त्रालयले प्राथमिता दिएको बताए । उनले कार्यान्वयनमा आउन लागेको नयाँ स्वास्थ्य नीतिमा सातै प्रदेशमा सरकारी तहबाट मेडिकल कलेज स्थापना हुने जानकारी दिए ।

सो अवसरमा जीन तथा उहाँकी पत्नी म्यालिन साइमन्सले नेपालका स्वास्थ्य सुधारका लागि आगामी दिनमा थप सहयोग गर्ने जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *