गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल बजेटको चार दशमलव चार प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दै कर्मचारीको तलब भत्तामा मात्रै चार प्रतिशत खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको बताए ।

वर्षौंअघि देखिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकाले मागअनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नौ लाख ६६ हजार अमेरिकी डलरको लागतमा एमआरआई मेशिन जडान गरिएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *