अब ७० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य बीमा प्रिमियम राज्यले तिरिदिने

काठमाडौँ, ७ चैत । स्वास्थ्य बीमा गराउने परिवारले ७० बर्ष मुनिका परिवारको सदस्यको मात्रै प्रिमियम बुझाए हुने भएको छ । किनभने स्वास्थ्य बीमा नियमावलीले ७० बर्ष माथिका जेष्ठ नागरिकको प्रिमियम तिर्ने दायित्व सरकारलाई तोकेको छ ।

गत सोमबार मन्त्रिपरिषद्ले पास गरेको सो नियमावलीले जेष्ठ नागरिकको उपचारका लागि छुट्टै विशेष प्याकेजको समेत घोषणा गरेको छ ।

‘उहाँहरुको उपचार प्याकेज अरुको जस्तो हुँदैन विशेष हुन्छ । उपचार सुविधा पनि करीब ३ लाख सम्मको हुनसक्छ,’ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने ।

उनले बीमाको प्रमियम बुझाउँदा प्रतिपरिवार पाँच जना तोकिने गरेकोमा अब ७० बर्ष माथिका जेष्ठ नागरिक भए सो गणना नहुने बताए । जेष्ठ नागरिक बाहेकका ५ जनालाई प्रतिपरिवारको रुपमा गणना हुनसक्छ ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउने क्रममा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले स्वास्थ्य बीमा नियमावली पास गरेको जानकारी गराएका थिए ।

नियमावली पास भएसंगै अब बीमांक रकम पनि दोब्बर हुने भएको छ । अब स्वास्थ्य बीमा गर्ने व्यक्तिले बार्षिक एक लाख रुपैयाँसम्मको उपचार पाउनेछन् । त्यसका लागि प्रिमियम ३ हजार पाँच सय तोकिएको छ । यसअघि प्रति परिवार २ हजार ५ सय तिरेपछि बार्षिक ५० हजार सम्मको उपचार सहुलियत पाउने व्यवस्था थियो ।

कार्यकारी निर्देशक पोखरेलले नियमावली स्वीकृत भएपछि राष्ट्रसेवक कर्मचारीहरुलाई बीमामा अनिवार्य रुपमा आवद्ध हुनुपर्ने प्रावधान रहेको बताए ।

अब शिक्षक, कर्मचारी , प्रहरी, सेना लगायतका जो सरकारी सेवामा हुनुहुन्छ उहाँहरुले अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *