आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून

–विष्णु नेपाल


काठमाडौँ, ५ चैत । परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको छ ।

परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका अमेरिकास्थित गुट्मार इन्ष्टिच्यूट र नेपालस्थित वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र(कृपा)ले गरेको एक अध्ययन अनुसार नेपालमा आधुनिक परिवार नियोजनका साधनको प्रयोगदर विगत ६० वर्षमा ४३ प्रतिशत र समग्र परिवार नियोजन सेवाको पहुँच ५४ प्रतिशत मात्र रहेको छ ।

करीब ७० प्रतिशत महिलामा प्रजनन स्वास्थ्यका लागि परिवार नियोजनका सेवा लिनुपर्छ भन्ने ज्ञान र जानकारी रहेको छ । महिला स्वास्थ्यका लागि परिवार नियोजनका आधुनिक साधनको प्रयोग तथा मातृत्व र नवजात शिशुको स्वास्थ्य सेवाको सुलभ पहुँच हुन अति आवश्यक रहेको सो अध्ययनले देखाएको छ ।

नेपालमा परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन सरकारलाई सुझाव दिएको छ । ती क्षेत्रको लगानी वृद्धिले मात्र अनिच्छित गर्भ, गर्भपतन र मातृ मृत्युलाई घटाउने छ, प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा हरेक वर्ष अनुमानित पाँच लाख ३९ हजार महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन् । प्रतिवेदनमा भनिएको छ, “परिवार नियोजनको आधुनिक साधनको चाहना हुँदाहुँदै पनि नपाएका कारण ती महिला गर्भ धारण गर्न बाध्य भएका हुन् ।”

अध्ययनले गर्भधारण गर्न नचाहने प्रजनन उमेरका ४४ प्रतिशत महिलाले अझै परिवार नियोजनका साधन नपाइरहेको अवस्था छ तर पछिल्लो समय नेपालको प्रजनन दरमा उल्लेखनीय सुधार आएको छ ।

सन् १९७६ मा छ दशमलव तीन प्रतिशत रहेको प्रजनन दर सन् २०१६ मा आइपुग्दा दुई दशमलव तीनमा झरेको छ । गर्भ निरोधनका साधन उपयोग गर्नेको सङ्ख्या दुई दशमलव नौ प्रतिशतबाट ५४ प्रतिशतमा उक्लिए पनि यसलाई खासै उपलब्धि मानिन्न । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन् । परिवार नियोजनका सेवाका कार्यक्रममा नेपाल सरकारसहित अन्य दातृ निकायबाट कति लगानी हुन्छ रु हालसम्म त्यसको कुनै अध्ययन भएको छैन ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कृपाका सहायक कार्यकारी निर्देशक चिकित्सक महेश पुरीले अध्ययनमा नेपालमा करीब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी भएको जानकारी दिए ।

उनले भने, “महिलालाई कहिले र किन बच्चा जन्माउने भन्ने निर्णय लिन सक्षम बनाउन आवश्यक छ । प्रजनन स्वास्थ्यसम्बन्धी ती विषयमा महिलासक्षम भएमात्र मातृ तथा बालस्वास्थ्य सुधार हुन्छ । सरकारले परिवार नियोजन सेवाको पहुँच विस्तार गर्न लगानी बढाउनु आवश्यक छ ।”

पछिल्लो समय नेपालमा पनि सानो परिवार तथा एकल परिवारप्रति मोह बढ्दैछ । सानो परिवारका लागि परिवार नियोजनका आधुनिक साधनको माग बढ्दै गएको हो । सन् २०१६ मा मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा २३९ रहेको छ । यो दर दक्षिण एशिया क्षेत्रमा औसतभन्दा बढी नै हो ।

कति महिला गर्भवती हुन्छन् ?

अध्ययन प्रतिवेदनका अनुसार सन् २०१७ मा नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशतअर्थात् पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेका थिए । ती अनिच्छित गर्भमध्ये दुई तिहाइ गर्भपतन हुने, एक चौथाइको अनियोजित जन्म हुने र बाँकीको गर्भ आफैँ खेर जाने गरेको छ ।

अध्ययनले परिवार नियोजनका आधुनिक साधनको पहुँच पु¥याउन र आवश्यकता पूरा गर्न अमेरिकी डलर तीन करोड ३० लाख लाग्ने जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *