चिकित्सा शिक्षा आयोगको पहिलो बैठक : के के गर्‍यो निर्णय ?

काठमाडौँ, ५ चैत । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको पहिलो बैठकले उपाध्यक्ष नियुक्तिका लागि तत्काल सर्च कमिटि गठन गर्ने निर्णय गरेको छ ।

सोमबार राती बालुवाटारमा बसेको बैठकले आयोगको नियमावली, ओएनएम तथा कार्यालयको संरचना तय गर्न आयोगका सह अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार राती साढे सात देखि १० बजेसम्म बसेको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

‘खासमा दुई तीन वटा कुरामा छलफल र निर्णय भयो,’ शिक्षा सचिव खगराज बरालले भने, ‘एउटा उपाध्यक्षका लागि सर्च कमिटी गठन गर्ने, अर्को आयोगको नियमावली तथा संस्थागत संरचना ओएनएम गराउने बारेमा निर्णय भएको छ । उपाध्यक्ष कार्यकारी हुने भएकोले आयोगको काम अघि बढाउन पनि त्यो सबैभन्दा जरुरी भयो र सकेसम्म छिटो नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय भयो ।’

ऐनले उपाध्यक्षको नियुक्तिको नाम सिफारिस गर्न लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने सर्च कमिटि गठन हुने व्यवस्था गरेको छ । जसमा मुख्य सचिव वा निजले तोेकेको प्रधानमन्त्री कार्यालयको सचिव सदस्य र चिकित्सा क्षेत्रका प्राध्यापकहरु मध्ये नेपाल सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ ।

शिक्षा सचिव बरालले सर्च कमिटिको आजै प्रस्ताव मन्त्रिपरिषदमा पठाउने संकेत गरे । ‘ढिलो नगरी हामी काम अघि बढाउँदैछौँ । छिटै नै प्रस्ताव पठाउँछौँ ।’

यस्तै सोमबारको बैठकले नियमावली तथा ओएनएम तयार गर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा समिति गठन गरकेो छ । जसमा शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सदस्य, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष सदस्य, राष्ट्रिय योजना आयोगका प्रतिनिधि लगायतका सदस्य रहनेछ ।

बैठकमा ऐनले पदेन तोकेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *