चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बालुवाटारमा बस्दै

काठमाडौँ, ४ चैत । संसदको चालु अधिवेशनबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार गठन गरिएको चिकित्सा शिक्षा आयोगको पहिलो बैठक आज बस्दैछ । बेलुका साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा पदेन पदाधिकारी तथा सदस्यहरुको मात्र सहभागिता हुने शिक्षा सचिव खगराज बरालले बताए ।

ऐनले चिकित्सा शिक्षा आयोगको अध्यक्षमा प्रधानमन्त्री, सह अध्यक्षमा शिक्षा मन्त्री तथा स्वास्थ्यमन्त्रीहरुलाई तोकेको छ । त्यसबाहेक शिक्षा सचिव, स्वास्थ्य सचिव, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष लगायतका पदाधिकारीहरु पदेन सदस्यहुने प्रावधान छ ।

पहिलो बैठकमा आयोगको संगठन संरचना, चिकित्सा शिक्षा सम्बन्धित समसामयिक विषयवस्तु र आगामी कार्यदिशा एजेन्डा छन् । सचिव बरालले भने । उनले मेडिकल कलेजहरूमा देखिएका समस्याबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । चिकित्सा क्षेत्रमा विशिष्ट योगदान गरेका चिकित्सकमध्येबाट आयोगको उपाध्यक्ष चयन गर्ने प्रावधान छ ।

ऐनले छनोट समितिको सिफारिसमा मात्र सरकारले उपाध्यक्ष नियुक्त गर्न पाउने व्यवस्था छ । आयोगलाई चिकित्सा शिक्षा क्षेत्रको राष्ट्रिय नीति तर्जुमा गर्ने कार्यभार तोकिएको छ । संघ र प्रदेशमा चिकित्सा शिक्षाको मापदण्ड र स्तर निर्धारण गर्ने जिम्मेवारीसमेत आयोगले पाएको छ ।

मेडिकल कलेजलाई आशयपत्र र सम्बन्धन दिने, सम्बन्धन खोरजी गर्ने, मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि एकीकृत प्रवेश परीक्षाका लागि नीति र मापदण्ड निर्धारण गर्नेलगायत समग्र चिकित्सा शिक्षाको अनुगमन, नियमन र कारबाही गर्ने जिम्मेवारीसमेत आयोगलाई दिइएको छ ।

प्रतिनिधि सभाबाट ११ माघमा र राष्ट्रिय सभाबाट १७ माघमा पारित भएको विधेयक १० फागुनमा राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *