न्याम्सको उपकुलपतिमा डीएन साह नियुक्त, डा. सेन्चुरी बने वीर अस्पतालका निर्देशक

काठमाडौँ, १ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्राडा डीएन साह नियुक्त भएका छन् । केही बेर अघि बालुवाटारमा भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । त्यस लगत्तै सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्राडा साहलाई उपकुलपतिको सपथग्रहण गराएका थिए ।

उपकुलपतिको सिफारिसमा आजै प्रतिष्ठानका बाँकी पदाधिकारीहरुको समेत नियुक्ती भएको छ । त्यसरी नियुक्ति पाउनेहरुमा प्रतिष्ठानको रेक्टरमा प्राडा सुवोध अधिकारी, रजिष्टारमा प्रा प्रमिला देवान र डीनमा प्राडा पिउस दाहाल रहेका छन् ।

यस्तै रिक्त रहेको बीर अस्पतालका निर्देशकमा डा केदार सेन्चुरीले नियुक्ति पाएका छन् । सबै पदाधिकारीहरुलाई कुलपतिको उपस्थितिमा सहकुलपति यादवले सपथ गराएका छन् ।

यता राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादवको नियुक्ति हुने पक्का भएपनि पछि स्वास्थ्य मन्त्रीले गर्ने गरी अहिलेलाई स्थगित गरिएको छ ।

यसअघि लामो समय देखि अडकिएको न्याम्सको पदाधिकारी नियुक्तिमा हिजो मात्रै कुलपति र सहकुलपतिबीच सहमति भएको थियो । त्यहि अनुसार आज नियुक्ति र सपथको कार्यक्रम अघि बढेको हो ।

आज नियुक्ति पाएका वीर अस्पतालका निर्देशक डा सेन्चुरी बाहेक सबैको पदावधी ४ बर्षको हुनेछ । वीर अस्पतालका निर्देशक बनेका डा सेन्चुरीको पदावधी भने २ बर्षको हो ।

रातीको १० बजे वीर अस्पताल पुगेर उपकुलपति प्राडा साहले गरे वहाली

यसैबीच नव नियुक्त उपकुलपति प्राडा साहले आजै पदवहाली गर्दैछन् । बालुवाटारमा सपथ खाए लगत्तै उनी सिधै वीर अस्पताल तर्फ लागेका छन् । संगसंगै नवनियुक्त पदाधिकारीहरु पनि गएका छन् ।

‘न्याम्सका चिकित्सकहरुले बाहिरबाट ल्याइएका उपकुलपतिलाई स्वीकार नगर्ने चेतावनी दिइरहेका बेला रातारात पदवहाली गरेको हुनसक्छ,’ एक जना चिकित्सकले भने ।

उनी रातीको १० बजे वीर अस्पतालको भवनमा रहेको कार्यकक्षमा पुगेर हाजिर हुँदैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *