न्याम्सको भागवण्डा मिल्यो : उपकुलपतिमा डीएन साह, वीर अस्पतालको निर्देशकमा डा सेन्चुरी

काठमाडौँ, ३० फागुन । रिक्त भएको झण्डै साढे सात महिना पुग्नै लाग्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले उपकुलपति पाउने भएको छ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरमबीच सहमति भएपछि पदाधिकारी नियुक्ति हुने निश्चित भएको हो ।

बालुवाटार स्रोतका अनुसार दुई पार्टीको सहमति अनुसार यसअघि चर्चामा रहेका प्राडा डीएन शाह नै न्याम्सको उपकुलपति हुने पक्का भएको छ ।

यस्तै बीर अस्पतालको निर्देशकमा डा केदार सेन्चुरी हुने पक्का भएको छ । न्याम्सको रेक्टरमा डा सुवोध अधिकारी र रजिष्टारमा डा दिलीप शर्माको नाममा सहमति भएको छ ।

यस्तै डीनमा डा पिउस दाहाल र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादवको नियुक्ति हुने पक्का भएको छ ।
‘पत्र तयार भईसकेको छ । तर उपकुलपति तथा निर्देशकहरु अहिले उपत्यका बाहिर भएका कारण हात लागिसकेको छैन,’ बालुवाटार स्रोतले भन्यो ।

यता उपप्रधानमन्त्री उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले पनि न्याम्सको पदाधिकारीको भागवण्डा मिलेको पुष्टी गरे ।

‘उपकुलपतिमा नियुक्ति पाउन लाग्नु भएका डा शाह आज सुनसरीमा हुनुहुन्छ । निर्देशकको जिम्मेवारी पाउन लाग्नु भएका डा सेन्चुरी इलाममा हुनुहुन्छ । त्यसैले पत्र दिइसकेको अवस्था होइन । तर पत्र तयार भयो भन्ने हामीले थाह पाएका छौँ । उहाँहरु भोलि दिउसो आएपछि पत्र दिइने तयारी छ,’ उनले भने ।

गत २३ साउनमा प्राडा गणेश गुरुङको पदावधी सकिएपछि न्याम्स निमित्तको जिम्मामा चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *