तीन करोड जनतालाई १४ सय डाक्टर !

काठमाडौँ, २८ फागुन ।  विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक उत्पादन भएका छन् । तर, तीमध्ये थुप्रैको मृत्यु भइसकेको छ भने धेरैजसो रोजगारीका लागि विदेशमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको संख्या करिब ३ हजार छ । सरकारी र निजी तवरमा कार्यरत चिकित्सकको संख्या जम्मा ४ हजार ४ सय छ ।

श्रेष्ठले दुवै क्षेत्रमा ठूलो संख्यामा चिकित्सक अभाव रहेको बताए । ‘उत्पादनको अनुपातलाई आधार मान्दा चिकित्सक अभाव छैन,’ उनले भने, ‘तर धेरैजसो बिदेसिएका कारण सानो संख्या मात्रै सेवामा छन् । यसले गर्दा चिकित्सक र जनसंख्याको ग्याप फराकिलो हुन पुगेको छ ।’

खोप तथा र गाउँघर क्लिनिकसमेत गरी नेपालमा ३२ हजार ९ सय १४ स्वास्थ्य संस्था छन् । स्वास्थ्यसम्बन्धी जनशक्ति ३५ हजार ५ सय ४४ छ भने ५२ हजार स्वयंसेविका छन् । हालसम्म ५३ हजार २ सय ७८ नर्स उत्पादन भएका छन् ।

बिरामीलाई ५ मिनेट समय
नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकले एकजना बिरामीलाई कम्तीमा २० देखि ३० मिनेटको समय दिनुपर्ने हुन्छ । तर, उपत्यकाभित्र काम गर्ने चिकित्सकले दैनिक १ सय ५० जनासम्म बिरामी हेर्दै आएका छन् ।

नेपाल मेडिकल काउन्सिल, आचारसंहिता समितिका संयोजक तथा नेपाल मेडिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डीराज पौडेल बिरामीलाई चिकित्सकले कति समय दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुने बताउँछन् ।

‘बिरामीलाई समयभन्दा पनि सन्तुष्ट पार्नेकाम चिकित्सकले गर्नुपर्छ,’ उनी भन्छन्, ‘चिकित्सकले ८ घन्टा बिरामी हेर्दा नेपालमा बिरामीले ५ मिनेट समय पाउन पनि कठिन छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार एकजना चिकित्सकले बिरामीलाई हेरेर विवेकसम्मत निर्णय लिन र अनुसन्धान गर्न एक दिनमा ३० जनाभन्दा बढी बिरामी हेर्नु उपयुक्त हुँदैन ।

  • विश्व स्वास्थ्य संगठन भन्छ – ‘एक हजार जनसंख्याबराबर कम्तीमा एक डाक्टर हुनुपर्छ’
  • तर, नेपालमा १४ सय सरकारीसहित जम्मा ४४ सय डाक्टर कार्यरत छन् अर्थात् एक डाक्टरको भरमा ६७५० जनता पर्छन्
  • नेपाल मेडिकल काउन्सिल भन्छ, ‘एक डाक्टरले एक बिरामीलाई २० मिनेट दिनुपर्छ’ तर बिरामीले औसतमा पाँच मिनेट पाउँछन्
  • सहरमा ६२.९५ प्रतिशत र गाउँमा ३७.०५ प्रतिशत बासिन्दा छन्, तर डाक्टर सहरमा ८० प्रतिशत र गाउँमा २० प्रतिशत मात्र छन्

पूर्वस्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेती भन्छन्, ‘२५ वर्षमा जम्मा दुई सय डाक्टरको दरबन्दी थप’

  • डाक्टरको दरबन्दीको विषयमा पूर्वस्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेती भन्छन्, ‘८ वैशाख २०५१ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको संगठन संरचनामा ठूलो परिवर्तन गरेको थियो । त्यसवेला चिकित्सकको दरबन्दी थप गरिएको थियो । त्यसयता ठूलो संख्यामा चिकित्सकको दरबन्दी थपिएकै छैन । दुई वर्षअघि नेपाल चिकित्सक संघको आन्दोलनका कारण २ सयको संख्यामा चिकित्सकको दरबन्दी थप गरिएको थियो । त्यसयता थप्ने चर्चासमेत गरिएको छैन ।’
  • हाल देशभर १ हजार ६ सय ५० चिकित्सकको दरबन्दी छ । तर, सरकारी सेवामा अहिले १ हजार ४ सय मात्रै खटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषज्ञ चिकित्सकको संख्या ५ सय छ । झन्डै ९ सयको संख्यामा मेडिकल अधिकृत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारलाई आठौँ तहदेखि १२औँ तहसम्मका चिकित्सकको बढी आवश्यकता छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका अनुसार २५ वर्षदेखि स्वास्थ्यमा दरबन्दी नथपिएका कारण सेवा प्रवाहमा गम्भीर समस्या उब्जिएको छ ।

 

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले तयार पारेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *