जापानी महिला काने तानाका बनिन् संसारकै बृद्ध व्यक्ति

टोकियो, जापान २६ फागुन । जापानकी काने तानाका संसारकै सबैभन्दा बृद्ध व्यक्तिको सूचीमा परेकी छन् । उनको उमेर आज ११६ बर्ष ६७ दिन भएको छ ।

जापानको पश्चिमी शहर फुकुओमा निवासी तानाकालाई शनिबार गिनिज बल्र्ड रेकर्डले संसारकै सबैभन्दा जेठो व्यक्तिको मान्यता दिएको थियो । सो अवसरमा फुकुओमा शहरका नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनलाई सम्मान गर्दै खुशीयाली मनाएका थिए । तानाकालाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।

जीवनको उत्तरार्धतिर पनि उनी गणित सिक्न औधी मन पर्ने बताउने तानाकाले घरमै बसेर खेल खेल्न आफ्नो रुची रहेको बताएकी छन् ।

विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् भने उनले पछि एक जनालाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन् ।

शनिबार आयोजित कार्यक्रममा सञ्चारकर्मीले जीवनको सबैभन्दा सुखद क्षण कुन हो भनेर प्रश्न गर्दा तानाकाले जवाफ दिइन, ‘आज र यतिवेला ।’

सामान्यतया हरेक विहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने, गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।

विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।

जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट छन् जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *