ओस्टेपोरोसिस अर्थात हड्डी मक्किने रोग के हो ? कसरी जोगिने ?

  •  डा. श्वेता नकर्मी 

ओस्टेपोरोसिसलाई नेपाली बोलीचालीको भाषामा हड्डी मक्किने रोग भनेर बुझ्न सकिन्छ । । मानिसको उमेर बढ्दै वा छिप्पिदै जाँदा हड्डी भित्र भित्रैबाट कमजोर हुँदै जान्छ । र कालान्तरमा हड्डी भाचिने अवस्थासम्म पुग्न सक्छ । यो समस्या महिला र पुरुष दुबैमा देखिन्छ । तर तुलनात्मक रुपमा महिलामा केही बढी भएको पाइन्छ ।

डा. श्वेता नकर्मी

कसरी कमजोर हुन्छ हड्डी ?
क्याल्सियम फोस्पोरस र अरु मिनरल्सहरुले बनेको हुन्छ हड्डी । जसरी एउटा घरको पिलर सिमेन्ट, गिटी, बालुवा, छड मिलेर बनेको हुन्छ, हाम्रो हड्डी पनि त्यस्तै गरी क्याल्सियम फोस्पोरस र अरु मिनरल्स तत्वहरुको समिश्रणबाट बनेको हुन्छ ।

चड्दो उमेरसंगै मानिसको हड्डीको विकासक्रम बढ्दै जान्छ । पुरानो सेल्स (कोषहरु) मर्दै जाने र नयाँ सेल्स (कोषहरु) निर्माण हुँदै जाने हड्डीको विकास क्रमको सामान्य प्रक्रिया हो । तर एउटा निश्चित उमेर पार गरिसकेपछि वा रोगको कारणले हड्डीको नयाँ सेल्स (कोषहरु) निर्माण हुने वा बढ्ने दरमा कमी हुन्छ । तर पुरानो हड्डी मर्ने क्रम भने जारी रहन्छ ।

नयाँ सेल्स (कोषहरु) बन्ने क्रम रोकिदै जाने र पुरानो सेल्स (कोषहरु) मर्दै जाँदा हड्डी कमजोर हुन थाल्छ । त्यसपछि हड्डी पातलो हुँदै जान्छ र भाचिने डर हुन्छ । सामान्य ठेस वा दुर्घटनाले पनि हड्डी भाँचिने डर हुन्छ । थोरै चोटपटक लाग्दैमा पनि हड्डी भाचिने सम्भावना बढी हुन्छ ।

कुन उमेरका मानिसलाई यो समस्या बढी ?
ओस्टेपोरोसिस मुख्यतः महिलाहरुमा महिनावारी रोकिइसकेपछि बढी देखिन्छ । महिनावारी रोकिएपछि स्ट्रोजिन भन्ने हर्मोनको कमी हुन्छ । त्यहि भएर पुरुषको तुलनामा बढी महिलामा यो समस्या देखा पर्दछ ।

सामान्य त महिलाहरुमा ६० बर्ष पछि र पुरुषहरुमा ७० बर्ष पछि ओस्टेपोरोसिस हुने सम्भावना बढी हुन्छ । उमेर बढ्दै जाँदा पुरानो हड्डी मर्दै जाने र नयाँ बन्ने क्रममा कमी हुने कारणले गर्दा ने बुढेसकालमा हड्डी मक्किने समस्या देखा पर्ने गरेको हो ।

त्यसबाहेक हर्मोनमा आउने परिवर्तन अर्को कारण हुनसक्छ । महिलामा मात्रै होइन पुरुषमा पनि हर्मोनको कमि हुन सक्छ । यसले पनि ओस्टेपोरोसिस निम्त्याउन सक्छ । त्यसबाहेक अत्यधिक रक्सी सेवनका कारण , शरीरको तौल अत्यधिक कमी भएका कारण बारम्बार विरामी भइरहने व्यक्तिमा पनि हर्मोन कम हुन्छ र ओस्टेपोरोसिसले च्याप्न सक्छ ।

यस्तै हाम्रो हड्डीका लागि चाहिने क्याल्सियम र भिटामिन डी को कमी भयो पनि यस्तो समस्या आउँन सक्छ । राम्रो खाना खाईएन र घाममा राम्रोसंग बसिएन भने पनि यो समस्या देखिने सम्भावना अत्यधिक हुन्छ ।

शारीरिक निस्कृयता पनि अर्को कारण हो । काम काज नगर्ने, आलस्यमय रुपमा जीवन व्यथित गर्नेहरुमा पनि यो समस्या देखा पर्न सक्छ ।
विभिन्न खालका बाथ रोगहरुमा पनि यो समस्या देखा पर्छ वा थपिने सम्भावना बढ्छ । त्यस्तै हर्मोनल समस्या भएका व्यक्तिहरुमा, पेटको आन्द्राको समस्या भएकोहरुमा पनि यो समस्या देखा पर्ने सम्भावना बढ्छ । जव आन्द्राले क्याल्सियम तथा मिनरल्सहरुको एब्जर्व गर्न सक्दैन तबसम्म यो समस्या देखा परिरहन्छ ।

कुनै कुनैमा औषधिको कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ । मुख्यतया स्टोरोइट नामको औषधि जो धेरै रोगको उपचारमा प्रयोग हुन्छ । त्यसको अति प्रयोगले यस्तो गडबढी निम्त्याउन सक्छ ।

 

ओस्टेपोरोसिसको संक्रमण कतिलाई भएको छ ? लक्षण के हो ?
नेपालमा यसको खासै अध्ययन भएको छैन । तर विश्वको कुरा गर्ने हो भने करीब २० करोड मानिसलाई यो समस्याले सताएको अध्यय्नहरुको रिपोर्टमा उल्लेख छ ।

ओस्टेपोरोसिस आफैको कुनै लक्षण हुँदैन । हड्डी कमजोर बनाउँछ र भाचिन्छ । कतिपयमा हड्डी भाँचिइसकेपछि मात्रै लक्षण आउन पनि सक्छ नआउन पनि सक्छ । प्रायजसो यस्तो केश अरु रोगको निदान गर्दै गर्दा भेटिने गर्छ । जस्तै कहिलेकाँही अरु रोगको लागि एक्सरे गर्दा मेरुदण्ड ओस्टेपोरोसिसको समस्यामा परेको देखिन्छ । अर्थात मेरुदण्डको हड्डी भाचिएको थाह हुन्छ । त्यसबाहेक हिप र हातको फ्याक्चर पनि बढी मात्रामा हुने गर्दछ ।

सामान्य त पाका उमेरका व्यक्तिहरुमा भारी सामान उठाउँदा पनि मेरुदण्ड भाचिन सक्छ । तर यो समस्या मेरुदण्ड भाचिइसक्दा समेत संकेत नहुनसक्छ । कसै कसैलाई मात्रै दुख्न सक्छ र यो प्रायगरेर अरु केश हेर्दा यसको समस्या देखिएको हुन्छ । हीप तथा हातको भाँचिदा दुख्न स्कछ तर अरुमा त्यस्तो समस्या हुँदैन ।

चिन्ने कसरी ?
यस्तो समस्या भयो भनेर चिन्नका लागि हामीले विएमडी (बोन मिनरल डेन्सीटी) परीक्षण गर्नुपर्छ । यसले हाम्रो हड्डीमा मिनरल्सको मात्रा कति छ भनेर पत्ता लाग्न सक्छ । त्यसले कति समय सम्म हड्डीले बलियो रहन सक्छ भनेर पनि थाह पाउन सकिन्छ । यो गर्नको लागि डीएक्सस्क्यान मेसिन चाहिन्छ । त्यो नेपालमा ज्यादै थोरै अर्थात दुई तीन ठाँउमा मात्रै उपलव्ध छ ।

यो बीएमडी परीक्षण डाक्टरले अरु सबै परीक्षण गरी आवश्यक परेमा मात्रै गराउने हो । प्राय ६० कटेका महिलाहरु र ७० बर्ष उमेर कटेका पुरुषहरुमा यो रोगको लक्षण देखियो भने चिकित्सकहरुले बीएमडी गराउन सल्लाह दिन सक्छन् । त्यसबाहेक अरु धेरै बाथरोग संग सम्वन्धित समस्यामा पनि यसको जाँच गर्न सकिन्छ ।

बीएमडी गरिसकेपछि रिपोर्टको आधारमा थप औषधि चलाउन पाउने कि नपाउने भन्न सकिन्छ । त्यस्तै हड्डी भाचिनसक्ने वा नसक्ने भन्ने बारेमा पनि अनुमान गर्न सकिन्छ ।

के खाने के नखाने ?
ओस्टेपोरोसिसबाट बच्न हामीले मुख्य ध्यान खानपानमा पुरयाउनुपर्छ । क्याल्सिय र भिटामिन डी बढी भएको खाना खानुपर्छ ।
दुध र दुधबाट बनेको खानाहरुमा बढी पाइन्छ । अरु ड्राई फुडहरु आल्मोन टोफुहरुमा पनि यो बढी पाइन्छ । त्यस्तै दही चिज हरियो सागसब्जी जस्तै ब्रो काउली, टोफु सुन्तला, बदाम जस्ता फलफुल गेडागुडी पनि खानु लाभदायक हुन्छ ।

यस्तै भिटामिन डी पनि लिनु राम्रो हुन्छ । भिटामिन डी मुलत सूर्यको प्रकाशबाटै प्राप्त गर्न सकिन्छ । यसका लागि विहान ११ बजे तिरबाट २ बजेसम्मको घाममा करीब १५ मिनेट जति बस्यौ भने पनि प्रर्याप्त हुन्छ ।

घाममा बस्दा कुनै पनि किसिमको क्रिम लोसन वा अरु कपडा वेरेर बस्नु भन्दा नांगो बसेको राम्रो हुन्छ । भिटामिन डी छालामा बन्ने भएकोले त्यसलाई असर नपर्ने गरी सिधै छालामा किरण पारिनु राम्रो हुन्छ । त्यसबाहेक भिटामिन डी पाइने खानेकुराहरु सालमोन, माछा, च्याउ जस्ता खाद्यपदार्थको प्रयोग गर्नु राम्रो हुन्छ ।

ओस्टेपोरोसिसका विरामीहरुले रक्सी सकेसम्म कम खाने, चुरोट खाँदै नखानु अत्यन्त राम्रो । तर एरोविक एक्ससाइज र अरु एक्ससाइज चाहि गरिरहेको राम्रो । किनभने शारीरिक अभ्यासले हड्डी र मसल्सलाई काम लाग्छ ।

ध्यान दिनुपर्ने कुराहरु :
ओस्टेपोरोसिस भएको व्यक्तिले हिड्दा चल्दा विशेष ध्यान पुरयाउनुपर्छ । किनभने हड्डी अत्यन्त कमजोर हुन्छ । सामान्य ठेस लाग्दैमा पनि भाँचिन सक्छ । त्यस्तै खानपानमा पनि ध्यान दिनुपर्छ र एक्ससाइजलाई नियमित गर्नु राम्रो हुन्छ । धूमपान तथा मध्यपान गर्दै नगर्नु अति उत्तम हुनेछ ।

#  डा.  नकर्मी नेशनल बाथरोग सेन्टर रातोपुलमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “ओस्टेपोरोसिस अर्थात हड्डी मक्किने रोग के हो ? कसरी जोगिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *