आठ स्थानीय तहका स्वास्थ्यकर्मी चार महिना देखि तलवविहीन

खलङ्गा, २३ फागुन । जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे ।

गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब २८ कार्यरत रहेका छन् । उनीहरु सबैले मङ्सिरदेखि तलबभत्ता नपाएको उनको भनाइ छ । मङ्सिरदेखि तलब नपाउँदा समस्या भएकोे स्वास्थ्य सहसंयोजक गणेश शाहीले बताए । ऋण निकालेर खर्च चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । “चार महीनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला”, शाहीले भने, “चार महीना भइसक्यो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन ?” धेरै पटक गुहार्दा पनि तलब नपाएको उनको भनाइ छ ।

रारालिही स्वास्थ्यचौकीका इञ्चार्ज दिनेश चौधरीका अनुसार मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता छ । उनले भने, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले चाँडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

यता गाउँपालिकाका लेखापाल मुनप्रसाद खत्रीका अनुसार रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) बाटै निकासा नभएका कारण स्वास्थ्यकर्मीले तलबभत्ता खान नपाएको बताए । रकम फुकुवाका लागि पहल गरेको उनको भनाइ छ । कोलेनिका जुम्लाका निमित्त प्रमुख भक्त महतले सम्बन्धित मन्त्रालयबाटै रकम नआएका कारण जुम्लाका सबै स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताए । मन्त्रलायले रकम निकासाको लागि परिपत्र गर्ने बित्तिकै आठ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले तलबभत्ता पाउने महतले जानकारी दिए ।

स्वास्थ्य जाँच

गुठीचौर गाउँपालिका र सन्ध्या फाउण्डेशन नेपाल जुम्लाको सहकार्यमा पाठेघरको मुखमा क्यान्सर भएका महिलाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र फाउण्डेशनको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । घरायसी कामको चाप, उकालो ओरालो गर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले त्यस्तो समस्या महिलाले भोग्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य जाँचको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष्य अङ्गत देवकोटाले जानकारी दिए ।

स्वास्थ्य जाँचमा ७७ महिलाको उपचार गरिएको र १२ महिलाको पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएकालाई सम्बन्धित निकायमा थप उपचारको लागि सिफारिस गरिएको देवकोटाले जानकारी दिए ।

जुम्लाका महिलामा प्रायः बालविवाह, गर्भवती भएको बेला अव्यवस्थित खानपान तथा गर्भपतनले पाठेघरमा रगत जम्ने भएका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको चिकित्सकले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *