दशौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता आगामी ३० फागुनमा

फाइल फोटो

काठमाडौँ, २२ फागुन । दशौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता अगामी ३० फागुनमा हुने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता भक्तपुरस्थित शैनिक आवासीय महाविद्यालयको खेल मैदानमा हुने बताइएको छ ।

केन्द्रका निर्देशक एवं प्रत्यारोपणविद डा पुकार चन्द्र श्रेष्ठले प्रतियोगितामा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुसंग चिकित्सक, कलाकार, पत्रकार तथा अन्य विशिष्ठ व्यक्तिहरु खेल खेल्ने बताए ।

उनले मिर्गौला प्रत्यारोपित व्यक्तिहरु पनि स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्छन् भन्ने सन्देश दिन यो कार्यक्रम गर्न लागेको जानकारी दिए । केन्द्रले हरे बर्ष मार्च महिनाको दोस्रो विहीबार यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार दीर्घकालिन मिर्गौला रोगबाट संसारभरका करीब १० प्रतिशत जनता आक्रान्त छन् । यो संसाररभरी मृत्यु हुने प्रमुख २० वटा कारणमध्ये एक हो । त्यसैले हरेक बर्ष १४ मार्चलाई संसारभर मिर्गौला रोगबारे सचेतना फैलाउने दिनको रुपमा दिवस मनाउने गरिन्छ ।

यता भक्तपुरस्थित शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रले स्थापनाको ६ बर्ष नपुग्दै ५८४ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

केन्द्रले दैनिक १२० जनालाई हेमोडायलाइसिस सेवा दिदै आएको छ । यस्तै केन्द्रले नेपालमै पहिलो पटक अत्यन्त जटिल मानिने कलेजोको प्रत्यारोपण शुरु गरेको छ । अहिलेसम्म ४ जनामा कलेजो प्रत्यारोपण भएको छ । निर्देशक डा श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएकाबाट हुने अंगप्रत्यारोपण ६ जनामा गरिएको छ ।

यस्तै केन्द्रले टेलिस्कोपबाट मिर्गौला निकाली गरिने ल्याप्रोस्कोपिक डोनर नेफ्रेक्टोमी प्रविधिबाट समेत मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रले आ.व. २०७५/७६को १० महिनाको अवधीमा स्वस्थ्य व्यक्तिको मिर्गौला दानबाट १५९ जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ ।

यहि अवधीमा मस्तिष्क मृत्यु भएकाहरुबाट १ जनामा कलेजो र २ जनामा मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *