सातौँ फर्मा तथा हेल्थ एक्स्पो सकियो, १० हजार बढीले गरे अवलोकन

काठमाडौँ, १९ फागुन । मरणोपरान्त अंगदानको सामाजिक अभियान सहित चितवनमा सुरु भएको सातौँ फर्मा तथा हेल्थ एक्स्पो आज सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भएको उक्त एक्स्पो शुक्रबारबाट भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको थियो ।

औषधिको गुणस्तर, नविनतम प्रविधि र विकासबारे जानकारी दिने उदेश्यले आयोजित उक्त एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि कम्पनीका गरी २ सय स्टल राखिएको थियो । त्यसमा सबैभन्दा बढी भारतीय कम्पनी (१२०) का स्टल थिए । यस्तै बहुराष्ट्रिय कम्पनीका ३० वटा र नेपाली कम्पनीका ३० वटा स्टल राखिएको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले बताए ।

आयोजकले शुक्रबार देखि आईतवारसम्मको अवधीमा १० हजार बढीले एक्स्पो अवलोकन गरेको जानकारी दिएको छ ।

४०० बढीले गरे अंगदानको घोषणा, ५०० बढीले घोषणा गर्ने तयारीमा

एपोनले गर्ने यसअघिका एक्पो औषधिमा मात्रै केन्द्रीत देखिन्थे । तर यसपटक केही पृथक देखियो । अपोनका अधिकारीहरुले यसपटकको एक्सोमा औषधिसंगै मरणोपरान्त गर्न मिल्ने अंगदानलाई सचेतनामुलक अभियानको रुपमा अघि सारे ।

एक्स्पोका मिडिया कोअर्डिनेटर अधिकारी भन्छन् , ‘हामीले मरेपछि खेरजाने अंग कसैको जीवन बचाउन सहयोगी हुन्छ भने त्यस अभियानलाई किन अघि नबढाउने भनेर लाग्यौँ ।’

शुक्रबार उद्योगमन्त्री मातृका यादवलाई बोलाएर एक्स्पोको उदघाटन गराएका एपोनका अधिकारीहरुले शनिबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बोलाई मरणोपरान्त अंगदान सम्वन्धी सामाजिक अभियानको थालनी गराए ।

उपप्रधानमन्त्री यादवले उदघाटन गरे लगत्तै एपोनका अधिकारी, औषधि उद्योगी, व्यावसायी गरी ४ सय बढीले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरे । ‘अरु ५०० बढीले अंगदान अभियानलाई सकारात्मक भन्दै मञ्जुरीनामाको फारम लगेका छन् । उनीहरुबाट पनि छिटै प्रतिवद्धता आउनेछ,’ मिडिया कोअर्डिनेटर अधिकारीले भने ।

एपोनका अध्यक्ष दीपक प्रसाद दाहालले जिउदो छँदा रक्तदान र मरेपछि अंगदान भनेर अभियान अघि बढाउन लागेको बताए । ‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनेरै यो अभियानमा सहभागी भएका हौँ । औषधि क्षेत्रसंग आवद्ध हजारौँ व्यक्तिले यो अभियानलाई साथ दिनु्हुनेछ,’ उनले भने ।

एपोनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसंग मिलेर मरणोपरान्त अंगदान गर्ने अभियान अघि बढाएको हो । यो अभियानको उदघाटन गर्दा केन्द्रका निर्देशक एवं अंग प्रत्यारोपणविज्ञ डा पुकार चन्द्र श्रेष्ठले मरणोपरान्त अंग प्रत्यारोपण गर्दा हुने फाइदा, नेपालको कानुन र अहिलेको परिवेशको बारेमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *