सरकार र गोदानबीच दुई घण्टा चल्यो बार्ता, भएन सफल

काठमाडौँ, १३ फागुन । सरकारी चिकित्सकको मागमा सहमति जनाएका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले माग पुरा गर्ने विषयमा भने अलमलिएका छन् ।

सोमबार विहान १० बजे स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल (गोदान)का प्रतिनिधिलाई बोलाएर करीब २ घण्टा छलफल गरेका थिए । सो क्रममा उनले चिकित्सकको माग जायज भएको पटक पटक बताएका थिए । तर पुरा कसरी गर्ने भन्ने विषयमा भने निष्कर्ष निकाल्न सकेनन् ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेका अनुसार बार्तामा मन्त्रालयका अन्य अधिकारीले पनि चिकित्सकको माग जायज भएको दोहोरयाएका थिए । तर जायज माग कसरी पुरा हुन्छ भन्ने कुनै निकास दिन सकेनन् ।

‘मन्त्री ज्यूले नि सकारात्मक छ भन्नुभयो । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पनि चिकित्सकले अनावश्यक माग नगरेको आयश व्यक्त गर्नुभयो । अर्का सचिवले पनि चन्द्र घिमिरेले पनि स्वास्थ्यका प्राविधिकको काम र अप्राविधिकको काम फरक रहेको बताउनुभयो । तर सरकारले ल्याएको समायोजनको प्रक्रियाको विरोध गरेका चिकित्सकका माग कसरी पुरा गर्ने भन्नेमा कुनै पहल भएन। त्यसपछि हामी उठियो,’गोदानका अध्यक्ष डा पाण्डेले भने ।

उनले हिड्ने बेलामा राज्यमन्त्री डा यादवले जुनसुकै बेला बस्न पर्न सक्ने संकेत गरेको समेत बताए ।

सरकारी चिकित्सकहरुले समायोजनमा आफूहरुलाई केन्द्र सरकार मातहत राख्नुपर्ने माग गर्दै चरणवद्ध रुपमा विरोधका कार्यृक्रम अघि सारेका छन् ।

उनीहरुले माग पुरा नभए बुधबारबाट आकस्मिक रुपमा बाहेकका सेवामा सहभागी नहुने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *